एमालेसँग कांग्रेसको खटपट भएकै हो, देउवाले किन बोलाए बैठक ?


काठमाडौं । कांग्रेस–एमाले सत्ता सहकार्य पेचिलो बन्दै गएको छ । सरकार सञ्चालनका विषयमा पार्टीभित्र बढेको असन्तुष्टिले सत्ता गठबन्धन संयन्त्रको बैठक नै प्रभावित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन्।

बुढानीलकण्ठस्थित सभापति देउवाको निवासमा जारी बैठकमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूलाई पनि बोलाइएको छ। देउवाको सचिवालयका अनुसार पार्टी र सरकार सञ्चालनका विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाइएको हो। देउवाले मन्त्रीहरूसँग ब्रिफिङ लिने भएका छन् ।

सम्भवतः केही मन्त्री फिर्ता बोलाउने कि भन्नेबारे छलफल भइरहेको बुझिएको छ । सरकारका कामकारबाही र निर्णय प्रक्रियालाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढिरहेका बेला बुधबार बेलुका प्रधानमन्त्री केपी ओलीले बोलाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा कांग्रेस यससभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा अनुपस्थित थिए । जसकारण कांग्रेस(एमाले गठबन्धन सरकारको आयुलाई लिएर प्रश्न उठिरहेको छ।

उपसभापति र महामन्त्रीको अनुपस्थितिले सरकार सञ्चालनका लागि गठित संयन्त्रको बैठक नै प्रभावित भएपछि देउवाले बिहीबार पार्टीको बैठक राखेका हुन्। कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीको कार्यशैलीको कडा आलोचना गरेका छन् । शर्माले बुधबार सात बुँदे दृष्टिकोण सार्वजनिक गर्दै सरकारलाई समर्थन गर्न नसकिने बताएका थिए ।

बारा पुगेका गगनले आज राति ढल्यो ढल्यो भनेको सरकार भोलिपल्ट धन्न जोगियो भन्नुपर्ने अवस्था रहेको भन्दै ओलीको कडा आलोचना गरेका थिए । जसकारण पनि एमालेसँगको सहकार्य कांग्रेसका लागि पेचिलो बनेको हो । थर संयन्त्रको बैठकमा गृहमन्त्री रमेश लेखकले एमालेसँग कुनै समस्या नरहेको भनेर ढाकछोपको प्रयास गरेका छन् । लेखकले सरकारको कार्यसम्पादन सही भएको भन्दै गगन र विश्वप्रकाशमाथि खनिएका छन् ।