शालिक राख्ने सहमति कहिले भएको हो भनेर शंकर दाहाललाई सोध्नुपर्छ


काठमाडौं – सर्लाहीको बरहथवा नगरपालिका–३ हजरियास्थित सरस्वती माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक पुहुपनारायण महतोले विद्यालय परिसरमा वासुदेव उपाध्यायको अर्धकदको शालिक राख्ने सहमति पत्रमा आफ्नो हस्ताक्षर भए पनि कहिले गरेको भन्ने विषयमा आफू अनभिज्ञ रहेको बताएका छन् ।

सरस्वती मावि परिसरमा उपाध्यायको शालिक राखिएपछि विवादमा तानिएका महतोले बिहीबार काठमाडौंमा कुराकानी गर्दै आफूले हस्ताक्षर गरेको मिति यादमा नआएको बताए । ‘शालिक राख्ने सहमति पत्र काठमाडौंमा भएको हो । हस्ताक्षर मेरै हो । तर कहिले गरेको भन्ने भुसुक्कै बिर्सिएँ,’ अनलाइनटिभी नेपालसँग कुराकानी गर्दै उनले भने । आफूहरूबीच भएको सहमति पत्रबारे विद्यालय व्यवस्थापन समितिमा किन माइन्युट भएन भन्ने विषयमा आफूलाई केही जानकारी नभएको उनको भनाइ छ ।

हाल काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका व्यवसायी यनप्रसाद आचार्य (नवराज आचार्य) ले सरस्वती माविमा सरस्वती मन्दिर स्थापना गरिदिने र त्यसबापत आफ्नो हजुरबुबा उपाध्यायको शालिक राख्न भन्दै तत्कालीन प्रधानाध्यापक महतो र स्थानीय एमाले नेता शंकर दाहालसँग सहमति गरेको पत्र फेला परेको छ । दाहाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नभए पनि उनले कुन हैसियतले हस्ताक्षर गरेका हुन् भन्ने खुलेको छैन । दाहालले आफूले हस्ताक्षर गरेको स्वीकार गरे । तर कहिले गरेको हो भन्ने मिति तोकेर भन्न सकेनन् । ‘त्यहाँ के लेखेको छ ? हो त्यही होला । पुरानो कुरा भएकाले म सम्झेर बताउँछु,’ दाहालले भने । जबकि २०६८ जेठ ५ गते सहमति गर्ने समयमा स्कुल व्यवस्थापन समितिका अध्यक्ष पञ्चानन्द भारती थिए ।

पूर्वप्रधानाध्यापक महतोले पनि आफूभन्दा शंकर दाहाललाई यसबारे बढी थाहा होला भन्दै पन्छिए । दाहाल त्यसबेला स्कुल व्यवस्थापन समितिका सदस्यसमेत थिएनन् । उनी सरस्वती माविमा कक्षा १२ का लागि भारतीय दूतावासले बनाइदिन लागेको भवनको सर्वदलीय समितिका संयोजक थिए । त्यही हैसियतका आधारमा दाहालले आचार्यसँग काठमाडौंमै बसेर हस्ताक्षर गरेको तथ्य फेला परेको छ ।

सहमति भएको भनिएका बेला स्कुल व्यवस्थापन समितिका अध्यक्ष भारतीले शालिक राख्ने विषयमा मौखिक कुरा भएको, तर लिखित सहमति नभएको स्पष्ट पारे । आफूले यसबारेमा सर्वदलीय बैठकमा पनि कुरा राखेको बताए । महतो र दाहालको भनाइका आधारमा आचार्यले सहमतिपत्रबारे कीर्ते कागज तयार पारेको स्पष्ट हुन्छ ।

हिजोसम्म विद्यालय व्यवस्थापन समितिसँग लिखित सहमति भएको छ भन्दै हिँडेका आचार्य अहिले शालिक नहटाइदिन भन्दै हारगुहार गर्न हजरियाका विभिन्न व्यक्तिको घरघरमा पुगेका छन् । बिहीबार बिहानै उनी हजरिया–२ स्थित नयाँटोलमा विद्यालय व्यवस्थापन समितिकी सदस्य आज्ञाकुमारी कटुवालको घरमा पुगेका थिए । माओवादीका दुई कार्यकर्ताका साथमा कटुवालको घरमा पुगेर उनले शालिक राख्ने वातावरण बनाइदिन भन्दै दबाब दिएका थिए ।