काठमाडौं – एमाले उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शक्ति आशक्तिप्रति कटाक्ष गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले प्रचण्डमा दोहोरो चरित्र देखिएको आरोप लगाएका छन् । प्रचण्डले कार्यकर्तासामु हाम्रो पक्षमा २०६४ जस्तो लहर आइरहेको छ– २०८४ मा देखाइदिन्छौँ, अहिले त हामीलाई सरकारतिर हेर्ने फुर्सद पनि छैन भन्ने अर्कातिर हप्तैपिच्छे, महिनैपिच्छे सरकार आज ढल्यो, भोलि ढल्यो भन्ने भविष्यवाणी पनि गर्न नछाडेको भन्दै आलोचना गरेका छन् ।
ज्ञवालीले प्रचण्डमा राजनीतिक संस्कार नभएको आरोपसमेत लगाएका छन् । उनले लेखेका छन्, ‘एमाले–कांग्रेस सहकार्यलाई दुई तिहाइको होइन, ‘षडयन्त्रको सरकार’ भन्न भ्याउनु भएछ । हो नि सर, २०७४ सालमा नेपाली कांग्रेससँग सरकारमा रहँदारहँदै एमालेसँग वाम तालमेल गर्नु पनि एकदमै ‘नैतिक’ थियो, नेकपाको दुई तिहाइको सरकार ढालेर नेपाली कांग्रेसलाई सत्तामा पुर्याउन अदालतमा हालिएको मुद्दा पनि ‘सैद्धान्तिक’ नै थियो, पाँचदलीय गठबन्धनका आधारमा चुनाव लडेर २०७९ पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु पनि एकदमै ‘संगतिपूर्ण‘ थियो र त्यसै अवधिमा तीन–तीनपटक सत्ता–सहयात्री फेर्नु पनि ‘शुद्ध राजनीतिक परिघटना’ थियो ।’
ज्ञवालीले लेखेका छन्– कामरेड ‘प्रचण्ड’ को सत्ता अधीरता अचम्मलाग्दो छ । एकातिर कार्यकर्ताका बिचमा भन्नुहुन्छ– ‘हाम्रो पक्षमा २०६४ जस्तो लहर आइरहेको छ– २०८४ मा देखाइदिन्छौँ, अहिले त हामीलाई सरकारतिर हेर्ने फुर्सद पनि छैन ।’ अर्कातिर हप्तैपिच्छे, महिनैपिच्छे सरकार आज ढल्यो, भोलि ढल्यो भन्ने भविष्यवाणी पनि गर्न छाड्नु हुन्न । भर्खरै त्यस्तै भविष्यवाणीको सम्भवतः सातौँ संस्करण सार्वजनिक भएको छ ।
ओशोले कतै सुनाएको कथा छ, दुई बालब्रह्मचारीहरू बारे । गुरुले ‘हेर है बाबु हो, स्त्रीहरूतिर फर्केर पनि नहेर्नू’ भनेर सिकाएका रहेछन् । एकदिन कतै जाँदै गर्दा उनीहरूले नदी किनारमा एकजना महिला रोइरहेको भेटेछन् । वर्षातको नदी उर्लिरहेको थियो र उनी नदीपारी घरमा रहेको दुधे बालकको मायाले विह्वल भइरहेकी थिइन् । उनले ती सन्यासीहरूलाई पारी तारिदिन अनुनयविनय गरिन् । पहिलोले त त्यता हेर्दा पनि हेरेन, दोस्रोले चाहिँ ती आमाको पीडा सहन गर्न नसकेर काँधमा बोकेर पारि तारिदियो, अर्कोले त्यसो नगर भन्दाभन्दै पनि । पारि तरिसकेपछि पहिलोले दोस्रोलाई आक्षेप लगायो– तैँले गुरु वचन तोडिस्, स्त्रीप्रति आशक्त भइस् ।
दोस्रोले धेरैपल्ट सम्झाउने कोसिस गर्यो, ‘होइन भाइ, मैले त विशुद्ध मानवीय नाताले पारि तारिदिएको हुँ ।’ तर पहिलोले पिछा छाडेन । ‘त्यस आइमाईको लुगा भिजेको थियो, तिघ्रा देखिएको थियो, तँ पक्कै बिटुलिएको हुनुपर्छ’ भन्दै गाली गर्न थालेपछि पहिलोले भनेछ– ‘भाइ, मेरो दिमागबाट त ती महिला उहिल्यै हराइसकिन् । तर तँ चाहिँ पक्कै आशक्त रैछस्, किनभने तैँले उनलाई एउटी आमाका रूपमा होइन, भोग्या स्त्रीका रूपमा हेरिस् र अझ पनि त्यही कल्पेर बसिरहेको छस् । तँसँग आजबाट मेरो बाटो फाट्यो ।’
प्रचण्ड सरको सत्ता आशक्ति पनि यस्तै केही होला ! उहाँले एमाले–कांग्रेस सहकार्यलाई दुई तिहाइको होइन, ‘षडयन्त्रको सरकार’ भन्न भ्याउनु भएछ । हो नि सर, २०७४ सालमा नेपाली कांग्रेससँग सरकारमा रहँदारहँदै एमालेसँग वाम तालमेल गर्नु पनि एकदमै ‘नैतिक’ थियो, नेकपाको दुई तिहाइको सरकार ढालेर नेपाली कांग्रेसलाई सत्तामा पुर्याउन अदालतमा हालिएको मुद्दा पनि ‘सैद्धान्तिक’ नै थियो, पाँचदलीय गठबन्धनका आधारमा चुनाव लडेर २०७९ पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु पनि एकदमै ‘संगतिपूर्ण‘ थियो र त्यसै अवधिमा तीन–तीनपटक सत्ता–सहयात्री फेर्नु पनि ‘शुद्ध राजनीतिक परिघटना’ थियो ।
किनभने त्यहाँ ‘पारसमणि’ का रूपमा यहाँ हुनुहुन्थ्यो, सरले छोएपछि त फलाम पनि सुन नै बन्ने भयो नि ! हङ पार्लियामेन्टभित्र संख्या जुटाउनेले सरकार बनाउँछन् । यसलाई असाध्यै धेरै सैद्धान्तिकरण गर्नु वाञ्छनीय हुँदैन । निःसन्देह, आफूले बनाउने समीकरणबाट सम्बन्धित पार्टीहरूले आफ्ना लक्ष्य र उद्देश्यहरू हासिल गर्ने अधिकतम कोशिस गर्छन् । यति चाहिँ भनी हालूँ– आफ्नो पार्टी बलियो छ, लोकप्रिय छ भन्ने विश्वास भएकाहरूले ‘अर्ली चुनाव’ माग्छन्, कतिबेला सरकार ढल्ला र कुँदिहालौंला भन्दैनन् । बुढापाकाहरू त्यसै भनेका होइनन् नि– खाना खाएपछि पानी खाने ठाउँ बाँकी राख्नु है नानी हो !
प्रतिक्रिया