दिपक गिरी
काठमाडौं – एक समयका ‘हिट मेकर’ भनेर चिनिने गायक तथा अभिनेता प्रकाश सपुत हिजोआज आफ्नै अभिव्यक्तिले विवादमा तानिएका छन् । सामाजिक गीतका नाममा जनतालाई रुवाउने, राजनीतिक आलोचनामा आफूलाई नायकझैँ देखाउने सपूत प्रधानमन्त्री केपी ओलीको गुणगान गाउँदा धेरै आलोचित बने । जसको प्रत्यक्ष मार उनले निर्माण र निर्देशन गरेको ‘वसन्त’ चलचित्रले बेहोरेको छ ।
संगीतमा उनको योगदानमा शंका गर्नु अन्याय होला, तर पछिल्लो समय उनी आफैँ शंकाको घेरामा छन् । ‘पिर’, ‘गलबन्दी’ जस्ता गीतमा देखिएको जोश, मौलिकता र सामाजिक सन्देश ‘वसन्त’ मा आइपुग्दा हराएको धेरैले अनुभव गरेका छन् । ‘परालको आगो’ फिल्मको शीर्षक जस्तै, उनको प्रयास पनि केहीबेर बल्यो, अनि खरानी भयो ।
‘परालको आगो’ मा उनी खेल्दैछन् । प्रकाश सपूतको मुख्य कमजोरी नै उनीभित्रको ‘अति आत्मविश्वास’ हो । गीतमा जुन ऊर्जा थियो, त्यो फिल्मको पर्दामा पुग्दा कमजोर र बनावटी लाग्यो । गीत लेख्न, गाउन र जनताका भावनालाई छेड्न सक्ने क्षमता राख्ने कलाकारले जब आफूलाई फिल्म निर्माता र नायकको भूमिकामा जबर्जस्ती फिट गर्न खोजे, त्यसकै कारण राम्रै समीक्षा बटुलेर पनि ‘वसन्त’ शिशिर ऋतुमा परिणत भयो ।
सपूतले कुनै समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि ‘पिर’ गीतमार्फत कटाक्ष गरेपछि उनी राजनीतिक बहसको केन्द्रमा आए । गीतको भित्री सन्देशभन्दा पनि राजनीतिक कोणमा बढी चर्चा भयो । यो चर्चाले उनलाई कलाकारको हैसियतभन्दा बढी ‘एक्टिविस्ट’ बनायो ।
यसले उनको छविमा मिश्रित असर पारेको छ— केहीले सराहना गरे, तर धेरै दर्शकले उनलाई पूर्वाग्रही भनेर अस्वीकार गरे । अब प्रकाश सपूतको करिअर कुन मोडमा जाँदैछ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ । गायकका रूपमा फर्किने हो भने अझै धेरै दिने सामथ्र्य छ उनीसँग । तर यदि उनी कलाकारिताभन्दा पनि आफ्नै विचार र व्यक्तित्व प्रचारमा केन्द्रित भए भने त्यो यात्रा लामो र कठिन हुनेछ । अहिलेसम्मको उनको करियर गीत–संगीतमै सम्भव देखिन्छ, फिल्ममा होइन भन्ने चर्चा हुन थालेको छ ।
प्रतिक्रिया