काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुने पात्रबारे करिब करिब सहमति जुटेको छ । बुधबार साँझ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने क्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छिट्टै गभर्नर नियुक्त गर्ने सहमति जुटेको हो । राष्ट्र बैंंकमा वरिष्ठताको आधारमा तेस्रो नम्बरमा रहेका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन ओली र देउवाबीच सहमति भएको स्रोतको दावी छ ।
भट्टको नाममा कांग्रेसमा कुनै विमति नभएको बुझिएको छ । राष्ट्र बैंककै कर्मचारी भएकाले पनि गभर्नर नियुक्ति विवादमा नपर्ने अवस्था बन्दै गएको छ । प्रधानमन्त्री ओलीले गभर्नरको नाम दिन आग्रह गरेपछि देउवाले भट्टको नाम दिएको स्रोतले बतायो । यसअघि चर्चामा ल्याइएका राजेन्द्रकिशोर क्षेत्री, डेपुटी गभर्नर निलम ढुंगानाबारे चर्को प्रतिक्रिया जनाएपछि कांग्रेसले नयाँ नाम अघि सारेको हो । चैत २४ गते महाप्रसाद अधिकारीको अवकाशपछि डेपुटी गभर्नर निलम ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिइएको छ ।
ढुंगानाले बैंकका सबै विभाग, महाशाखा तथा कार्यालयको जिम्मेवारी अर्का डेपुटी बमबहादुर मिश्रलाई दिएकी छन् । नेपाली कांग्रेस र एमालेबीच सरकार सञ्चालनका विषयमा समन्वय नहुँदा हाल देखिएको किचलो बिहीबारदेखि करिब करिब पटाक्षेप भएको छ । कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले अहिलेकै समीकरणलाई थप मजबुत बनाउने गरी लाग्ने निर्णय गरेको हो ।
कांग्रेस बैठकमा एमालेले राजनीतिक नियुक्तिमा एकलौटी गरेको भन्दै नेताहरूले आपत्ति जनाएका थिए । ठूल्ठूला नियुक्ति जति सबै एमालेले लाने भए किन सरकारमा बस्ने भन्ने कोणबाट पनि नेताहरूले कुरा राखेका थिए । सभापति देउवाले सरकार सञ्चालनमा देखिएका समस्या र कमीकमजोरी केही भए आफूलाई भन्न र आफूले ओलीलाई सुनाउने बताएका थिए । त्यसपछि अहिलेकै सरकारलाई थप मजबुत निर्णय भएको थियो ।
प्रतिक्रिया