काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर बन्न भन्दै कार्यकारी निर्देशक डा.गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । तर उनले पदबाट दिएको राजीनामा स्वीकृत गर्न कामु गभर्नर नीलम ढुंगानाले अस्वीकार गरेकी छिन् ।
राजीनामा पत्र बोकेर भट्ट शुक्रबार बिहान साढे १० बजे गभर्नरको कार्यकक्षमा पुगेका थिए । तर, कामु गभर्नर ढुंगानाले राजीनामा स्वीकृत गर्न मानिनन् । निलम आफैं गभर्नर बन्ने दौडमा छिन् । उनलाई प्रधानमन्त्री केपी ओलीले गभर्नर बनाइदिने आश्वासन दिएका पनि थिए ।
ओली पहिलो महिला गभर्नर बनाउन चाहन्थे । तर सत्तारुढ कांग्रेसको भागमा गभर्नर परेको नेताहरुको भनाइ छ । शुक्रबार बस्ने गभर्नर सिफारिस समितिको बैठकले भट्टको नाम गभर्नरमा सिफारिस गर्ने तय छ । समितिले तीनजनाको नाम गभर्नरलाई सिफारिस गर्नेछ । त्यसमध्ये एकजनालाई मन्त्रिपरिषद् बैठकले सिफारिस गर्नेछ ।
आइतबारसम्म भट्ट गभर्नर नियुक्ति नभए परिस्थिति बिग्रने सम्भावना पनि त्यत्तिकै छ । गभर्नरको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । सरकारले गभर्नर बन्न ६५ वर्षे उमेरहद हटाएपछि सर्वोच्चले सरकारका नाममा अन्तरकालीन आदेश जारी गरेको छ ।
जसकारण आइतबारभित्रै गभर्नर नियुक्त गर्नुपर्ने दबाबमा सरकार छ । गभर्नरका लागि राजेन्द्रकिशोर क्षेत्री, निलम ढुंगाना, ज्ञानेन्द्र ढुंगाना, गुणाकर भट्टलगायतको नाम चर्चामा छ । तर कांग्रेस र एमालेबीच भट्टलाई गभर्नर बनाउने मोटामोटी सहमति भइसकेको स्रोतले बतायो ।
प्रतिक्रिया