शिक्षक आन्दोलन झन् झन् कडा हुने, महासंघका अध्यक्ष सुवेदीले दिए यस्तो निर्देशन


काठमाडौं । १७ दिनदेखि काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन अझ कठोर हुने देखिएको छ । बिहीबारको आन्दोलनमा अपेक्षा गरिएभन्दा धेरै सहभागिता जुटेपछि उत्साहित नेपाल शिक्षक महासंघले शुक्रबारदेखि कडा आन्दोलनका लागि आह्वान गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन विजयोन्मुख भ्एको भन्दै संयमित भएर लाग्न आह्ुवान गरेका छन् ।

उनले बिहीबारको सहभगिताले गौरान्वित गराएको भन्दै नेतृत्वलाई झन् धेरै ऊर्जा दिएको उल्लेख गरेका छन् । ‘साथीहरु, हामी विजयोन्मुख छौं । यो घडीमा हामीले झन् अनुशाासित , मर्यादित र संयमित हुन जरुरी छ । आन्दोलन उग्रतामा परिणत भयो भने त्यसले सबभन्दा पहिले आन्दोलनलाई नै खान्छ । हाम्रो आन्दोलन डिरेल्ड ण्विपथगामी) होस् र तार्किक निष्कर्षमा नपुगोस्, उपलब्धि हात नपरोस् भनेर षडयन्त्र गर्नेहरु पनि थुप्रै छन् ।

त्यस्ता मान्छे कुन आवरणमा आउँछन्, कुनै ठेगान हुँदैन । त्यसैले हामीले उग्रता र भड्काउबाट आफूलाई बचाउनुपर्छ । मर्यादा, अनुशासन र शान्तिपूर्ण प्रदर्शन कायम राख्नुपर्छ,’ सुवेदीले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘हामी चार लाख शिक्षक–कर्मचारी र हामीले उठाउने आन्दोलन मात्र हाम्रो हो । यो सत्यलाई मनन गरौं । त्यसैले अनुशासित,संयमित र मर्यादित भएर आन्दोलनमा जुटौं । आन्दोलन स्थलको सरसफाइ र सुरक्षामा अझ बढी सचेत बनौं ।

अरु केही दिन धैर्य र मर्यादित भएर लागौं । हाम्रो विजय सुनिश्चित छ ।’ सरकारले शिक्षकका माग पूरा गर्न भन्दै वैशाख १२ गते संघीय संसद अधिवेशन आह्वान गरेको छ । शिक्षा विधेयकमाथि छलफल जारी छ । धेरै विषयमा सहमति जुटे पनि महत्वपूर्ण विषयमा अझै दलहरुबीच सहमति जुटेको छैन । सभामुख देवराज घिमिरेले बजेट अधिवेशनको पहिलो साता शिक्षा विधेयकमाथि छलफल हुन नसक्ने बताएपछि शिक्षकहरु अझ आक्रोशित भएका छन् ।