पलको ‘मोहर’ साउन २३ मा आउने, यस्तो छ लुक्स



नायक पल शाह अभिनित फिल्म ‘मोहर’ साउनको २३ गतेबाट आउने पक्का भइसकेको छ । फिल्मको प्रदर्शन मिति तय भइसकेपछि यसको निर्माणपक्ष प्रचारमा लागिपरेको छ ।

फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको अभिनय छ ।

निर्माणपक्षले फिल्मका मुख्य नायक पल शाहको केही तस्वीरहरु सार्वजनिक गरेको छ । जहाँ, पल लामो कपाल पालेको अवतारमा छन् । उनको हातमा भरुवा बन्दुक समेत छ । यसले, पलको भूमिका कस्तो होला भन्ने कौतुहलता दर्शकमा पैदा हुने देखिन्छ ।

दीपेन बस्न्यातको डीओपी रहेको फिल्ममा कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।

फिल्मका मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुन् । कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । फिल्मको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको छ ।

यो फिल्म पल शाहको करिअरका लागि पनि महत्वपुर्ण छ । किनकी, यो फिल्म चलेको खण्डमा पलको क्रेज पनि उचालिनेछ ।