भरतपुरमा नवनिर्मित ६ लेनको सडक प्रधानमन्त्रीले गरे उदघाटन, रेणु पनि पुगिन्


चितवन – भरतपुरमा नवनिर्मित ६ लेनको सडक शुक्रबार उदघाटन भएको छ । पुलचोक–गोन्द्राङ सडकको प्रधानमन्त्री केपी ओलीले उदघाटन गरेका हुन् । उदघाटन समारोहमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक योजना तथा पुर्वाधारमन्त्री देवेन्द्र दाहाल तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायत सहभागी थिए । यसअघि सडक निर्माण शिलान्यास कार्यक्रम बहिस्कार गरेकी भरतपुरकी मेयर दाहाल उदघाटन समारोहमा भने उपस्थित भइन् ।

तेस्रो पटक प्रधानमन्त्री हँुदा ओलीले २०७७ माघ १७ मा यो सडकको शिलान्यास गरेका थिए, त्यसबेला मेयर रेनु दाहाल उपस्थित भएकी थिइनन् । रेनु नआएपछि त्यसबेला ओलीले ब्यंग्य गर्दै भनेका थिए, मेयर साहेब यता नआएर पिकनिक खान जानुभएछ ।’ तत्कालीन समयमा नेकपा विवाद उत्कर्षमा पुगेको थियो ।

रेनुका बुवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीलाई प्रधानमन्त्री र नेकपा अध्यक्ष दुवैबाट हटाउने अभियानमा लागेका थिए । प्रचण्ड र ओलीबीच पानी बाराबारको स्थिति रहेकै बेला सडक स्तरोन्नति शिलान्यास भएको थियो । एक अर्ब १३ करोड रुपैयाँको लागतमा विस्तारको काम पूरा भएको सो सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ ।

५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ ।