प्रधानमन्त्री ओली र शिक्षक महासंघका प्रतिनिधिबीच आज साँझ ७ बजे वार्ता


काठमाडौं । प्रधानमन्त्री केपी ओली र आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिबीच शुक्रबार साँझ वार्ता हुने भएको छ । प्रधानमन्त्री ओलीले ७ बजे वार्ताका लागि शिक्षक महासंघका प्रतिनिधिलाई बोलाएका छन् । महासंघले शुक्रबारको आन्दोलन सकिएपछि वार्तामा क–कसलाई पठाउने भन्नेबारे छलफल गरिरहेको छ ।

शिक्षक महासंघका सहअध्यक्ष एवं आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले प्रधानमन्त्रीले नै बोलाएपछि वार्तामा सहभागी हुने बताइन् । ‘प्रधानमन्त्रीले नै बोलाएपछि हामी आफ्ना कुरा राख्न जान्छौं, तर हामीले राखेको माग पुरा नहुन्जेल आन्दोलन रोकिँदैन, हाम्रो माग भनेको शिक्षा ऐन हो,’ उनले भनिन्, ‘वार्तामा बस्दैमा समाधान निस्किन्छ भन्ने त छैन ।’

शिक्षकहरुले विद्यालय शिक्षा ऐन मागेर सडकमा उत्रिएको १७औं दिन पुगेको छ । यसअघि शिक्षामन्त्री र शिक्षा सचिवसँग शिक्षक प्रतिनिधिहरु बैठकमा बसे पनि सहमति तथा वार्ता हुन सकेन । शिक्षकहरुले ऐन नआएसम्म आन्दोलन नछाड्ने अडान राखिरहेका छन् । कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकार प्रमुख र आन्दोलनरत शिक्षक महासंघबीच हुने वार्ताले परिणाममुखी परिणाम ल्याउने अपेक्षा व्यक्त गरे ।