ज्ञानेन्द्र ढुंगानाको नियति, गभर्नर बन्ने दाउमा भएको सिइओ पद पनि खुस्क्यो


काठमाडौं – नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगाना यता न उताका भएका छन् । नेपाल राष्ट्र बैंकको गभर्नरको दौडमा रहेका ढुंगानाले सिफारिसमा पर्नकै लागि आफ्नो पदबाट राजीनामा दिएका थिए । तर पछिल्लो घटना विकासक्रम हेर्दा उनी गभर्नर नबन्ने दृश्य देखिँदै गएको छ ।

नेपाल बैंकर्स संघका पूर्वअध्यक्षसमेत रहेका ढुंगानालाई सत्तारुढ कांग्रेसको एउटा समूहले गभर्नरका लागि बोकेको थियो । कांग्रेस केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरी नै ढुंगानालाई गभर्नर बनाउन ठूलो लबिइङमा लागेका थिए । कांग्रेस र एमालेसँग राम्रो सम्बन्ध भएकाले पनि सुरुका केही दिन ढुंगाना गभर्नरको दौडमा अग्रपंक्तिमा रहेको चर्चा थियो । तर जब एक्कासि सरकारले गभर्नर बन्न ६५ वर्षे उमेरहद सच्यायो, तब गभर्नरको दौडमा पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्री र रवीन्द्रकुमार पाण्डे देखापरे । त्यसपछि विस्तारै ढुंगानाको चर्चा सेलाउन पुग्यो ।

अझ पछिल्लो समय प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गभर्नरमा राष्ट्र बैंककै कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई बनाउने आन्तरिक सहमति भएको खबर बाहिरिएपछि ढुंगाना सिफारिसमा समेत नपर्ने बताइन्छ । भट्टले गभर्नर बन्नकै लागि कार्यकारी निर्देशक पदबाट शुक्रबार राजीनामा दिएका छन् । तर उनको राजीनामा कामु गभर्नर निलम ढुंगानाले स्वीकृत नगरेकाले अन्योल उत्पन्न भएको छ ।

नबिल बैंकले सीईओ ज्ञानेन्द्र ढुंगानाको दिएको राजीनामा चैत १० गतेदेखि नै लागू हुनेगरी स्वीकृत गरेको थियो । त्यस्तै कामु प्रमुख कार्यकारी अधिकृतका रुपमा बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई तोकिएको छ । ढुंगानाले २०७९ असारदेखि नबिल बैंकको सीईओ सम्हालेका थिए । यदि ढुंगाना गभर्नर बन्न नसके फेरि पनि नबिलमा सिइओमै फर्काउने मनस्थितिमा चौधरी रहेको बताइन्छ । सोही कारण नबिल बैंकले अहिलेसम्म सिइओ कसैलाई पनि नियुक्त नगरेको बुझिएको छ ।