प्रेमिका बनाउन केही नचाहिने, श्रीमती बनाउन जात छुट्याउने ?


सुस्मिता खतिवडा

काठमाडौं – थाहा छैन माया के हो ? तर जुन दिनदेखि तिमीलाई देखें, त्यही दिनदेखि मेरो सबै हाँसो–खुसी तिमीमै सीमित भयो । थाहा थिएन जो यति प्यारो छ, उसैको साथ यति छोटो हुन्छ भनेर । खै ! कताबाट सुरु गरौं तिमीसँगको मेरो प्रेमको यात्रा ? प्रेमको परिभाषा फरक हुन्छ भन्छन् । तर मेरो नजरमा प्रेमको परिभाषा नै तिमी र तिम्रो खुसी हो ।

प्रेममा जातपात हेरिन्न भन्छन् । तर होइन रहेछ । आज आएर यो कुरा बुझ्दै छु । तिमी उपाध्याय म जैशी भएकैले हाम्रो मायामा तिमीले पूर्णविराम लगायौ । पहिलोपटक तिमीलाई भेट्दा लागेकै थिएन कि तिमीलाई फेरि भेट्छु भनेर । तिमीसँगको प्रेमको गहिराइमा यतिसम्म डुब्न पुग्छु । जब तिमी मेरो जिन्दगीमा आयौ तब लाग्थ्यो मैले सबै चिज पाएँ, तर होइन रैछ, म भ्रममा पो परेको रैछु । लाग्थ्यो संसारमा मायाभन्दा ठूलो केही हुन्न । मायामा कति मान्छे पागल भएको, अझ कतिले त आफूलाई समाप्तसम्म गरेको देखिन्छ सुनिन्छ । तर तिमीले हाम्रो मायाभन्दा ठूलो जातलाई ल्यायौ । जसकारण तिमीसँग देखेका हरेक सपना केही पलमै टुट्यो । क्षणभंगुर भए मेरा चाहना ।

मेरो जीवनमा डाक्टर बनेर आएको तिमीले कहिल्यै नबिर्सने र निको नहुने घाउ दिएर गयौं है ? हामीबिच सम्बन्ध राम्रै चलिरहेको थियो । यहीबिचमा हामीले हाम्रो सम्बन्ध दिगो बनाउने सोच्यांै अनि घरमा भन्ने सल्लाह ग¥यौं । अरु सबै ठिकठाकै थियो, तर तिम्रो परिवारको एउटै प्रश्न केटी बाहुन हो ? भन्ने प्रश्नले मेरो मन बिझायो । उसले आफूले माया गर्ने मान्छे मलाई बुझ्नै सकेन । मायाभन्दा ठूलो उसका लागि जात भयो । उसको अनि मेरो माया जातमा आएर अड्कियो । मैले माया गर्दा न उसको जात हेरेकी थिएँ, न त उसको काम, न उसको परिवार नै । हेरेको थिएँ त केवल उसलाई । मात्र उसलाई ।

यहीबिचमा हाम्रो भेट भयो । केही समयअघिसम्म जिन्दगीभरि सँगै हुने भनेर गरेका बाचा बन्धन उसले केहीबेरमै सक्कायो । आफूले माया गरेको मान्छेलाई त जुनसुकै अवस्थामा पनि साथ दिनसक्नुपर्छ, नत्र मैले आफ्नो परिवार छाडेर तिमीलाई रोजेको के मतलव भयो र ? जब मन फेरिन्छ नि तब सम्बन्ध आफैं खल्लो हुने रैछ, नत्र पहिला मन परेको म अनि मेरो सबै कुरा पछि मनै नपर्ने कसरी भयो ?

सम्झना आउन्न र तिमीलाई मैले आफूले आफैलाई बिर्सेर तिमीलाई माया गरेको ? म ढिलो घर आउँदा तिमीलाई चिन्ता लाग्ने गरेको ? कसरी सक्छौ यति छिटो यसरी बिर्सन या भनांै बिर्से जसरी बस्न ? मेरो खराब समय चलिरहेको थियो । मलाई लाग्थ्यो तिमीले मेरो हौसला बढाउँछौ, तर तिमीले त दूरी बढायौ । परिवारलाई सम्झाएर आफूले माया गरेको मान्छेलाई सँगै राख्न नसक्ने तिमीलाई एउटै प्रश्न गर्न मन छ । के साँच्चै कुनै दिन तिमीले मलाई माया गरेको थियौ ?

जात मिलेन त्यो पनि बाहुन बाहुनबिच ? प्रेमिका बनाउन केही नचाहिने अनि जब श्रीमती बनाउने कुरा आउँछ, तब जैशी र उपाध्याय भन्दै जात छुट्याउने ? भिरको बाटो हिँड्नभन्दा पिरको बाटो हिँड्न गाह्रो हुने रैछ । उसले त आजसम्म सायद मलाई बिर्सियो होला, तर मैले भने बिर्सन सकेकी छैन । आफै सक्किएर बर्बाद भएँ, तर तिम्रो नामको बद्नाम गरेको छैन ।

जिन्दगी जिउने क्रममा भाग्यवश तिमीसँग भेट हुने अवसर मिल्यो, कहिले खुसी भएर बिताएँ, त कहिले दुःखी भएर, जस्तोसुकै समय तिमीसँग बिताए पनि ती सबै मेरा लागि महत्वपूर्ण छन् । सुखी हुँदा पनि तिमीले मलाई धेरै कुरा सिक्ने मौका दियौ, अनि दुःखी हुँदा पनि धेरै कुरा सिकायौ, यसकारण म तिमीप्रति निकै आभारी छु, तिमी मेरा लागि निकै स्मरणीय रहनेछौ ।

यदि कुनै दिन समयलाई जित्न सक्ने भएछु भने पक्कै पनि तिम्रा लागि केही गर्नेछु । तिमी विश्वास गर मलाई तिमीले सिकाएका कुनै पाठ पनि भुल्नेछैन, तिमीले दिएको आँट अनि साहसमा कहिल्यै कमी आउन दिने छैन । तिमीले औंल्याएका गल्ती फेरि कहिले दोहो¥याउने छैन । जिन्दगीभर जानीजानी कसैको मन दुःखाउने छैन, मभित्रको आत्मसम्मानलाई कहिले डग्मगाउन दिने छैन । तिम्रो अभाव सधैं हुने छ मलाई । तिमी आफ्नो जात हेरेरै अघि बढ्नु, आफ्नो परिवारको खुसी हेर्नु । अन्त्यमा यति भन्छु मेरो भागको खुसी पनि तिमीलाई नै मिलोस् ।