काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा सरकारले अहिलेसम्म कसैलाई पनि नियुक्तिका लागि सिफारिस गरेको छैन । हल्लाकै भरमा सर्वोच्च अदालतमा डा. गुणाकर भट्ट गभर्नरमा नियुक्त हुन लागेको भन्दै उनको योग्यता नपुग्ने भन्दै दायर रिट निवेदनमा आइतबार सुनुवाइ हुँदैछ ।
अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाको तर्फबाट शुक्रबार सर्वोच्चमा दायर पूरक निवेदनमा आज सुनुवाइ हुने भएको हो । ६५ वर्षभन्दा माथिको व्यक्तिलाई गभर्नर नियुक्त गर्न नमिल्ने भन्दै उनीहरूले यसअघि नै दायर गरेको रिट सर्वोच्चमा विचाराधीन छ । अल्पकालीन अन्तरिम आदेश जारी भएको रिटका सम्बन्धमा आज दुवै पक्षलाई बोलाएर सुनुवाइ हुँदैछ । त्यसै क्रममा सुनुवाइ गर्ने गरी पूरक निवेदनको पनि पेसी तोकिएको हो ।
गभर्नर बन्नका लागि कार्यकारी निर्देशक भट्टको योग्यता नपुग्ने भएकाले नियुक्ति रोक्न निवेदनमा माग गरिएको छ । तर भट्टलाई गभर्नर नियुक्त गर्ने सरकारले निर्णयसमेत गरेको छैन । शुक्रबार उनले कार्यकारी निर्देशकबाट राजीनामा दिएलगत्तै हतारहतारमा उनलाई रोक्न अदालतमा निवेदन हालिएको हो ।
सरकारले गत चैतको दोस्रो साता अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा अर्थविद् विश्व पौडेल र पूर्वगभर्नर डा. विजयनाथ भट्टराई सम्मिलित एक समिति गठन गरेको थियो । तर, अहिलेसम्म समितिले नयाँ गभर्नरको नाम सिफारिस गरेको छैन । समितिको बैठकसमेत बसेर सिफारिस नगर्दैमा अदालतमा मुद्दा पर्नुले बिचौलिया कतिसम्म हाबी भएका रहेछन् भन्ने पुष्टि हुने अर्थशास्त्रीहरु बताउँछन् ।
भट्ट कसैले पनि नबोकेका कर्मचारी हुन् । गभर्नर नियुक्तिमा धेरै समूहका बिचौलिया हाबी भएको भन्दै कांग्रेस, एमाले नेताहरुले आपत्ति व्यक्त गर्दै आएका छन् । यदि सर्वोच्चले भट्टको योग्यतामा प्रश्न उठाए को गभर्नर बन्ने भन्ने झनै अन्योल हुने देखिन्छ । गभर्नरका लागि निलम ढु्रंगाना, राजेन्द्रकिशोर क्षेत्री, ज्ञानेन्द्र ढुंगाना, रवीन्द्र पाण्डे, प्रकाशकुमार श्रेष्ठलगायत चर्चामा छन् ।
प्रतिक्रिया