तीनकुनेको नियति हुन नदिन राजधानीमा कडा सुरक्षा


काठमाडौं । चैत १५ गतेको राजावादीको हिंसात्मक प्रदर्शन जस्तो हुन नदिन गृह मन्त्रालयले आइतबार राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको छ । राप्रपाले आज काठमाडौंको बिजुली बजारमा गर्न लागेको प्रदर्शनलाई हिंसात्मक हुन नदिन काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको हो।

सिंहदरबार, संसद भवन, माइतीघर मण्डला, बालुवाटार, राष्ट्रपति भवनलगायतका निषेधित क्षेत्रहरूमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रदर्शन शान्तिपूर्ण राख्ने र निषेधित क्षेत्र तोड्न नदिने बताएको छ। निषेधित क्षेत्रमा प्रवेशको प्रयास भए बल प्रयोग गर्नेसम्मको तयारीमा प्रहरी रहेको छ भने चुनोतीपूर्ण रहेको सवारी व्यवस्थापनका लागि वैकल्पिक रुट तय गरिएको छ।

राप्रपाले प्रदर्शन शान्तिपूर्ण हुने भन्दै सरकारलाई उत्तेजित नहुन भनेको छ। सरकारले संयमता गुमाए आफूहरूले सामूहिक गिरफ्तारी दिने राप्रपाले जनाएको छ। राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आज प्रदर्शन गर्न लागेको हो । उसले राजधानीका पाँच ठाउँमा निषेधाज्ञा क्षेत्र तोड्ने घोषणा गरेको छ ।

राप्रापले निषेधित क्षेत्र तोड्ने चेतावनी दिएपछि शनिबार नै गृह मन्त्रालयले एक सूचना जारी गर्दै अराजकता सह्य नहुने उल्लेख गर्दै कारबाहीका लागि तयार रहन चेतावनी जारी गरेको थियो। राप्रपाले आफ्नो अडान कायमै रहेको भन्दै सामूहिक गिरफ्तारी दिने बताएको छ ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक हुँदा दुईजनाले ज्यान गुमाउनु परेको थियो। सो घटनामा संलग्न भएको आरोपमा मुख्य आरोपी दुर्गा प्रसाईंसहित राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र महामन्त्री धवलशमशेर जबरासहितका नेताहरू प्रहरी हिरासतमा छन्। उनीहरूको रिहाइ, राजसंस्था पुनस् स्थापना र हिन्दु राष्ट्रको माग गर्दै राजावादीले प्रदर्शन गर्दै आएका छन्। राप्रपाको आजको प्रदर्शनमा राजावादीको पनि साथ रहेको छ । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त आन्दोलन समितिका कार्यबाहक संयोजक जगमान गुरुङले राप्रपाको प्रदर्शनमा आफूहरुको नैतिक र भौतिक समर्थन रहेको जनाएका छन् ।