एमालेले वैशाख ११ गते सडकमा एक लाख मान्छे उतार्ने


काठमाडौं – एमालेले लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा वैशाख ११ गते आयोजना गर्ने विशेष कार्यक्रमको तयारीलाई तीव्र बनाएको छ । जनताले जितेको दिन युवा सेलिब्रेसन कार्यक्रम आयोजनाका लागि पार्टी महासचिव शंकर पोखरेलेकै नेतृत्वमा एमाले नेतृत्व परिचालित भएको छ ।

युवालाई लोकतन्त्र ल्याउनको लागि भएको बलिदान र यसको महत्त्वबारे जानकारी दिन विशेष कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमको समन्वयमा खटेका पार्टी संगठन विभाग सचिव माधव ढुंगेलले जानकारी दिए। उनले वैशाख ११ गते एक लाख मानिस सडकमा उतार्ने बताए ।

आइतबार एमालेबाट काठमाडौं उपत्यकामा निर्वाचन जितेका जनप्रतिनिधिहरूको भेला आयोजना गरिएको थियो । भेलालाई पार्टी महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल लगायतले सम्बोधन गरेका थिए । भेलाले युवा सहभागिताका लागि विभिन्न योजना बनाएको छ ।

आजै सोही विषयमा केन्द्रित रहेर जनसंगठनका पदाधिकारीहरूको भेला पनि सम्पन्न भएको छ । भेलामा जनसंगठनको तर्फबाट युवा सहभागिताको विषयमा छलफल गरी योजना बनाइएको ढुङ्गेलले जानकारी दिए । भेलालाई पार्टी महासचिव शंकर पोखरेल र जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टीको उपत्यका कोर सिटी स्थानीय पार्टी नेतृत्वसँगको बैठक पनि गरिएको छ । बैठकलाई पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल लगायतले सम्बोधन गरेका थिए । वैशाख ११ गते दिउँसो १ बजे भृकुटीमण्डपमा हुने कार्यक्रम सफल बनाउन पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको मुख्य टिम बनेको छ ।

पार्टी संगठन विभाग सचिव माधव ढुंगेल संयोजक रहेको सहजीकरण टिम बनाइएको छ । कार्यक्रममा देशभरिका पार्टी र जनसंगठन आवद्ध युवाहरूले सहभागिता जनाउने ढुंगेलले बताए । बैशाख ११ गते भृकुटी मण्डपमा नेपालका युवाहरूको वास्तविक अनुहार देखिने उनले दाबी गरेका छन । कार्यक्रमलाई एमाले अध्यक्ष प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्नेछन्