राप्रपा अध्यक्ष लिङदेनलगायत नेता रिहा मैजारोतिर राप्रपाको आन्दोलन, देखिएन कार्यकर्तामा उत्साह


काठमाडौं – राजसंस्था पुनः स्थापना गर्नुपर्ने भन्दै सडकमा उत्रिएको राप्रपाको अन्तिम आन्दोलन फिका सावित भएको छ । आइतबार काठमाडौंका निषेधित क्षेत्र तोड्न लाखौं मान्छे सडकमा उतार्ने घोषणा गरेको राप्रपा कार्यकर्ता र समर्थक नआइदिएपछि बिलखबन्दमा परेको छ ।

सडकमा सोचेजस्तो मान्छे नआएपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, दिपकबहादुर सिंहलगायत सिंहदरबारभित्रबाट बाहिर आएर गेटमा नाराबाजी गर्न थालेपछि प्रहरीले पक्राउ गरेको थियो । निषेधित क्षेत्रमा आन्दोलन गरेको आरोपमा पक्राउ परेका लिङदेनसहितका नेतालाई प्रहरीले रिहा गरेको छ ।

करिब तीन घन्टा प्रहरी कार्यालयमा राखेर रिहा गरिएको हो। लिङदेनसहित नेताहरु ज्ञानबहादुर शाही, बुद्धिमान तामाङ, युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललगायत सातजना पक्राउ परेका थिए । उनीहरुलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखिएकोमा रिहा गरिएको हो । राप्रपाले आइतबार गरेको प्रदर्शन शान्तिपूर्वक नै भएको प्रहरीले जनाएको छ। बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने प्रयास गरे पनि प्रहरीले असफल बनाएको थियो।

राप्रपाको आन्दोलनमा झन्डै एक हजार मानिस पनि सडकमा नउत्रिएपछि अब कसरी अघि बढ्ने भन्ने समस्या परेको छ । पार्टीका अध्यक्षसहित सांसदहरू पक्राउ गरेपछि राप्रपाले साँझसम्म रिहा नभए देशभर मसाल जुलुस निकाल्ने घोषणा गरेको थियो । तर अब अब अध्यक्षसहितका नेतालाई प्रहरीले निकालेपछि राप्रपाको त्यो घोषणा पनि तुहिएको छ । राप्रपाका आकस्मिक केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारले आफ्नो आन्दोलनमा दमन गरेको आरोप लगाएको छ ।

बैठकले सिंहदरबार परिसरभित्रैबाट अध्यक्ष लिङदेनसहितलाई गिरफ्तार गरिनु आपतिजनक र दुर्भाग्यपूर्ण भएको भन्दै त्यसले सरकारको निरंकुश चरित्र देखाएको प्रतिक्रिया दिएको छ । साथै, पक्राउ परेका सम्पूर्ण नेता–कार्यकर्ताको रिहाइको मागसमेत राप्रपाले गरेको छ । ‘सरकारको यसप्रकारको रवैया अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्र भएको प्रष्ट छ ।

अध्यक्ष र नेताहरु पक्राउको राप्रपा घोर निन्दा र भत्सर्ना गर्दछ। यसको सर्वत्र विरोध गरिनुपर्छ । शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदैगर्दा गिरफ्तार हुनुभएका अध्यक्ष र सबै नेताहरुको अविलम्ब रिहाइको राप्रपा माग गर्दछ,’ प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ