गभर्नर विवादसम्बन्धी रिटमा आज आदेश आउने, को बन्ला नयाँ गभर्नर ?


काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर विवादसम्बन्धी रिटमा सोमबार आदेश आउने भएको छ । सर्वोच्च अदालतमा गभर्नरको विवादसम्बन्धी रिटको सुनुवाइ हुने भएको छ। गुणाकर भट्टको योग्यता नपुगेको भन्दै दायर गरिएको रिट सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा परेको हो।

आइतबार उक्त रिट न्यायाधीशहरू हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको थियो। तर उक्त रिट अन्तिमतिर परेपछि हेर्न नभ्याइनेमा राखिएको थियो। अधिवक्ता विशाल थापाले गभर्नरको नियुक्तिमा उमेर हदसम्बन्धी मापदण्डलाई संशोधन गरी हटाएकोविरूद्ध रिट दायर गरेका थिए।

वैशाख २ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश पाण्डेयको इजलासले ६५ वर्षे उमेरहद हटाउने गरी भएको संशोधनलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो। त्यसअघि थापाले गत शुक्रबार नै भट्टलाई सरकारले गभर्नर बनाउन लागेको, तर उनको योग्यता नै नपुग्ने दाबीसहित पूरक निवेदन दिएका थिए।

अधिवक्ता थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति र राष्ट्र बैंकलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। तर भट्टका विषयमा अहिलेसम्म कसैले पनि गभर्नर नियुक्तिका लागि निर्णय गरिसकेको छैन ।

अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी तथा सदस्य नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ लाई दोस्रो संशोधन गरेको गर्दै नियुक्तिको उमेरहद हटाएको थियो। गभर्नरका लागि भट्टका साथै राजेन्द्रकिशोर क्षेत्री, निलम ढुंगाना, रवीन्द्र पाण्डे, ज्ञानेन्द्र ढुंगानालगायत चर्चामा छन् । आज सर्वोच्चले जस्तो आदेश सुनाउँछ त्यसपछि मात्र सरकारले नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि बढाउने भएको छ ।