वार्षिक नतिजा प्रकाशन नगरेको र क्यालेन्डरमा उल्लेख कक्षा १२ को परीक्षाले नैतिक दबाबमा आन्दोलित शिक्षक


काठमाडौं । २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका शिक्षकहरूमाथि नैतिक दबाब सिर्जना भएको छ । चैतमा वार्षिक परीक्षा लिएर नतिजा प्रकाशन नगरी आन्दोलनमा सहभागी हुन काठमाडौं हिँडेको र वार्षिक क्यालेन्डरमा उल्लेख १२ कक्षाको परीक्षा नजिकै आएकाले शिक्षकहरूमाथि दोहोरो दबाब बढेको हो ।

मंगलबारदेखि नयाँ शैक्षिक सत्रअनुसार कक्षा सञ्चालन हुनुपर्ने हो । अधिकांश निजी (संस्थागत) विद्यालयले बैशाख ९ गतेदेखि पठनपाठन सञ्चालन गर्दैछन् । तर सामुदायिक विद्यालयले नतिजासमेत प्रकाशन गरेका छैनन् । जसकारण नयाँ भर्ना हुने कुनै भएन । यसबीचमा सरकारी विद्यालयका धेरै विद्यार्थी निजीमा सिफ्ट भइसकेका छन् । आन्दोलन गरेर घर विद्यालय पुग्दा विद्यार्थी नै नहुने अवस्था पनि देखिएको छ ।

सोही कारण सोमबार बेलुकासम्म फेस सेभिङ गरेर बुधबार नै घर फर्किने मनस्थितिमा धेरै शिक्षक पुगिसकेका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भइरहे पनि शिक्षकहरूमाथि व्यक्तिगत र सार्वजनिक प्रश्न उठ्न थालिसकेका छन् । आफ्ना छोराछोरी निजी विद्यालयमा भर्ना गरेर धेरै शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौं आएको मात्र होइन, राजधानीमै पढिरहेका आफ्ना सन्तानलाई भेट्न भनेर आएको आरोपको सामना शिक्षकहरूले खेपिरहेका छन् ।

बिहानै आन्दोलनमा सहभागी हुन आउने, सडकमै बसेर हस्ताक्षर गर्ने, टिकटक र रिल बनाउने अनि घर फर्किने अधिकांश शिक्षकको दिनचर्या बनेको छ । यसले पनि शिक्षक आन्दोलनको प्रभाव कम परेको विश्लेषण हुन थालेको छ ।

नत्र २० दिनदेखि शिक्षक सडकमा हुँदा सरकार निकै गम्भीर हुनुपर्ने हो । तर सरकार त्यति गम्भीर देखिएको छैन । अघिल्लो वर्ष पनि केही दिन शिक्षक आन्दोलन चलेको थियो । सबै काम सकेर फुर्सदको समयमा आन्दोलन गर्न काठमाडौं आउने गरेको आरोपको सामना पनि शिक्षकहरूले खेप्दै आएका छन् ।