काठमाडौं – देशभरका सरकारी विद्यालयका शिक्षक सडक आन्दोलनमा रहेका बेला राष्ट्रिय मानव अधिकार आयोगले १२ कक्षाको परीक्षाको वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । शिक्षक आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले निर्धारित वैशाख ११ देखि सुरु हुने कक्षा १२ को परीक्षाको सेड्युल जारी गर्न सकेको छैन ।
बोर्डका अध्यक्ष महाश्रम शर्मासमेत १२ कक्षाको परीक्षा हुने नहुनेमा निश्चिन्त छैनन् । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकको निर्णयले नै शिक्षकको आन्दोलन रोकिने वा जारी के हुने भन्ने तय गर्छ । मानव अधिकार आयोगले भने शिक्षकहरुको समस्या वार्ताबाट छिटो समाधान गरी शिक्षाको अधिकारमा अवरोध हुने वातावरण नबनाउन आग्रह गरेको छ ।
५५ लाख विद्यार्थीहरूको शिक्षा प्राप्त गर्ने अधिकार हनन् भएको भनी अभिभावक संघ नेपालले आयोगको ध्यानाकर्षण गराएकोमा आयोगले समस्या समाधानका लागि सरकारलाई पत्राचार गरेको हो । पत्रमा नेपालको संविधानको धारा ३१ र ३९ द्वारा प्रदत्त बालबालिकाको मौलिक हक संरक्षण गर्दै आन्दोलनरत शिक्षक महासंघसँग विगतमा भएका सम्झौता कार्यन्वयन गर्न र कक्षा १२ को परीक्षा शान्तिपूर्वक सञ्चालन हुने वातावरण मिलाउन अनुरोध गरिएको आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘समयमै समस्याको सम्बोधन हुन नसकेमा त्यसबाट लाखौ विद्यार्थीहरूमा मनोवैज्ञानिक रुपमा दूरगामी असर पर्नसक्ने, शिक्षाको अधिकार प्रचलनमा अवरोध हुनसक्ने र शैक्षिक क्यालेण्डर नै प्रभावित भई समग्रमा शिक्षा प्रणालीमा नै नकारात्मक प्रभाव पर्न सक्ने हुँदा यस विषयमा गम्भीर भई वार्ताको माध्ययमबाट समस्या समाधान गरी सहज र शान्तिपूर्ण रुपमा परीक्षा सञ्चालन हुने वातावरण मिलाई शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आयोग आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारसमक्ष पुनः अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया