शिक्षक महासंघका अध्यक्ष सुवेदी भन्छन्– कक्षा १२ को परीक्षा केही दिनपछि सर्न सक्छ


काठमाडौं – नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले राज्यकै पदाधिकारीका कारण वैशाख ११ गते तोकिएको कक्षा १२ को परीक्षा केही दिन पछि सर्ने बताएका छन् । सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा सुवेदीले आफूहरूले पटकपटक आग्रह गर्दा पनि शिक्षामन्त्री, प्रधानमन्त्रीको कानमा बतास नलागेको बताए ।

‘हामीले विद्यालय शिक्षा विधेयक तयार पार्न उपसमिति गठन गर्न पटकपटक भन्यौं, तर उहाँहरु मान्नु भएन । जब शिक्षकहरु आन्दोलनका लागि काठमाडौं आए, तब मात्र उपसमिति गठन भयो । उपसमितिमा एक सय भन्दा बढी बुँदामा सहमति भइसकेको छ ।

एक सय ६५ बुँदामा अब केही विषयमा टुंगिन बाँकी छन् । त्यसो भयो भने वैशाख १२ गते संसद्मा शिक्षा विधेयक टेबल भएमा १३ वा १४ गते पारित गर्न सकिन्छ । त्यसका लागि केही दिन कक्षा १२ को परीक्षा सारेर सहमति जुटाउन सकिन्छ,’ उनले भने । सुवेदीले यसपटक शून्य र सयमध्ये केमा जाने भन्नेमा आफूहरु सय नलिइकन नफर्किने चेतावनी पनि दिए । उनले दुई साताभन्दा बढी कक्षा १२ को परीक्षा नसर्ने उनले बताए ।