ट्रम्पको चेतावनीपछि सुनको मूल्य आकाशियो, अन्तर्राष्ट्रिय बजारमा नयाँ रेकर्ड


काठमाडौं — अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा तीव्र उछाल आएको छ। प्रतिऔंस मूल्य ३४०० अमेरिकी डलर पार गर्दै मंगलबार बिहानको कारोबारमा झनै बढेर ३४८० डलर आसपास पुगेको हो। गत साताको तुलनामा सुनको मूल्यमा करिब ५ प्रतिशतको वृद्धि देखिएको छ।

यस अन्तर्राष्ट्रिय वृद्धिको असर मंगलबार नेपाली बजारमा पर्ने अनुमान गरिएको छ। सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको थियो।

सुनको मूल्यमा आएको यो भारी वृद्धिको मुख्य कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको केन्द्रीय बैंक (फेडरल रिजर्भ)प्रति चेतावनीपूर्ण अभिव्यक्ति रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसीले जनाएको छ।

ट्रम्पले शुक्रबार ट्रुथ सोसियलमार्फत फेडका अध्यक्ष जेरोम पावेललाई ब्याजदर तुरुन्तै घटाउन आग्रह गरेका थिए। उनले भनेका छन्, “धेरैले अहिले ब्याजदर घटाउने माग गरिरहेका छन्। यदि तुरुन्तै ब्याजदर घटाइएन भने अमेरिकी अर्थतन्त्र मन्दीमा जान सक्छ।”

ट्रम्पको यस प्रकारको हस्तक्षेपजन्य अभिव्यक्तिले लगानीकर्ताहरूबीच अन्योलता बढाएको र सुरक्षित लगानीको विकल्पका रूपमा सुनमा आकर्षण बढाएको विश्लेषण गरिएको छ।