‘नरसिंहाः अवतार’मा यस्तो छ कलाकारहरुको लुक्स



नायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ चर्चामा छ । यो फिल्ममा समावेश ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गीत चर्चामा छ । टिकटकमा यो गीत भाइरल भइरहेको छ ।

यो गीतले पनि दर्शकहरुलाई फिल्मप्रतिको आकर्षण बढाएको छ । यसैबिच, दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा बनेको फिल्मको नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका अधिकांश कलाकारहरु अटाएका छन् ।

निर्माणपक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा नायक राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, टार्जन लगायतका कलाकारहरुलाई स्थान दिइएको छ ।

निर्देशक तथा लेखक दिवाकर भट्टराइका अनुसार, यो पोस्टरले फिल्ममा कुन कलाकारहरुको गेटअप कस्तो छ भन्ने प्रष्ट पार्दछ ।

चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको एक्सन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भिएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, राकेश दाहालको पोस्टर डिजाइन छ ।

क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जन निर्माता रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।

यो फिल्मप्रति दर्शकहरुको आशा ह्वात्तै बढेको छ । फिल्मको बक्स अफिस सफलताले नायक राजेश हमालको कमब्याक पनि सफल हुनेछ । यसैले, दर्शक र फिल्मीकर्मीहरु यो फिल्मको बक्स अफिसलाई नजिकबाट नियालिरहेका छन् ।