कक्षा १२ को परीक्षा सरकार र शिक्षक दुवैका लागि बन्यो प्रतिष्ठाको विषय


काठमाडौं – वैशाख ११ गते पूर्वनिर्धारित कक्षा १२ को परीक्षा सरकार र २१ दिनदेखि आन्दोलनरत शिक्षकका लागि प्रतिष्ठाको विषय बनेको छ । राष्ट्रिय परीक्षा बोर्डले पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गर्नु र नेपाल शिक्षक महासंघले परीक्षामा सहभागी नहुने निर्णय गर्नुले परिस्थिति निकै जटिल बन्दै गएको महसुस हुन थालेको छ ।

उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीमा मंगलबार बसेको बोर्ड बैठकबाट विद्यार्थीलाई अन्योलमा नपर्न अनुरोध गर्दै पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो । त्यसलगत्तै शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले परीक्षामा सहभागी नहुन शिक्षकहरुलाई आह्वान गरेको छ ।

सरकार कुनै पनि हालतमा शिक्षकको आन्दोलनसँग नझुक्ने मनस्थितिमा देखिएको छ । शिक्षामन्त्री विद्या भट्टराईले अचानक राजीनामा दिएपछि सरकार नैतिक दबाबमा परेको छ । त्यसैले निजामती कर्मचारी प्रयोग गरेर भए पनि कक्षा १२ को परीक्षा नरोक्ने निर्णयमा सरकार पुगेको हो । परीक्षा निर्धारित समयमै र शिक्षक सहभागी नभए निजामती कर्मचारी परिचालन गरेरै भए पनि सञ्चालन गर्ने निर्णय गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।

परीक्षाको समय फेरबदल गर्दा विद्यार्थीको तयारीमा असर पर्ने र उनीहरूको समय खेर जाने भएकाले परीक्षा नरोक्ने र प्रमुख जिल्ला अधिकारी (सीडीओं) को संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मेवारी दिएर सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारीले प्रत्येक परीक्षा केन्द्रमा जिल्लाका निजामती कर्मचारीलाई परिचालन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो ।

आन्दोलनमा सहभागी नभएका शिक्षकलाई परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष बनाउने र त्यस्तो अवस्था नभएका ठाउँमा प्रमुख जिल्ला अधिकारीले निर्णय गरेर परीक्षा सञ्चालन गरिने भएको छ । बोर्ड बैठकबाट आन्दोलनरत शिक्षकलाई कक्षा–१२ को परीक्षा सञ्चालनका निम्ति सहयोग गर्न आह्वान गर्ने निर्णय समेत गरिएको छ । यस वर्ष कक्षा–१२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन् ।

परीक्षाका निम्ति जापानमा एउटासहित एक हजार ५९१ परीक्षा केन्द्रको व्यवस्था गरिएको छ । परीक्षाका निम्ति त्यति नै संख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी संख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी बोर्डले गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डको निर्णयसँगै विद्यालयहरुले प्रवेश पत्र लिन सूचना निकालेका छन् । मंगलबार र बुधबारभित्र प्रवेश पत्र लिइसक्नुपर्ने हुन्छ । निजी विद्यालयका विद्यार्थीलाई समस्या नपरे पनि सरकारी स्कुलका विद्यार्थीले भने अलि दुःख र कष्ट पाउने भएका छन् ।