रविकाे निवेदन किन पठाइयो संयुक्त इजलासमा ?


काठमाडौं – रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट अब संयुक्त इजलासमा सुनुवाइ हुनेछ । मंगलबारको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले रिट संयुक्त इजलासमा पठाउन आदेश दिएको हो । अब संयुक्त इजलासमा सुनुवाइको पेसी तोकिने छ ।

संयुक्त इजलासमा पठाउने निर्णयसँगै रवि मंगलबार थुनामुक्त हुने सम्भावना सकिएको छ । संयुत्तः इजलासमा कहिले पेसी तोकिने हो निश्चित छैन । रवि हाल सहकारी ठगी प्रकरणमा बुटवल उच्च अदालतको आदेशले पुर्पक्षका लागि रुपन्देही कारागारमा छन् । उनलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै पत्नी निकिता पौडेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गराएकी थिइन् ।

सोमबार सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएकोमा ‘हेर्न नमिल्ने’को सूचीमा राखिएको थियो। आइतबार निकिता पौडेलले रवि रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दायर गरेकी थिइन्। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालय, रुपन्देही जिल्ला अदालत रुपन्देही, उच्च अदालत तुलसीपुर बुटवल इजलास,जिल्ला प्रहरी परिसर भद्रकाली,कारागार कार्यालय रुपन्देही सिद्धार्थनगर रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देही सिद्धार्थनगर रुपन्देहीलाई विपक्षी बनाइएको छ।