काठमाडौं – चैत १५ को तीनकुने हिंसात्मक घटनाका मुख्य आरोपी विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं लामै समय जेलमा बस्नुपर्ने सम्भावना बढेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईविरुद्ध विभिन्न १२ वटा कसुरमा अनुसन्धान थालेको छ ।
नेपाल राष्ट्र बैंकले सीआईबीमा बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण ऐन, २०६४ बमोजिम मुद्दा दर्ता गरेपछि प्रसाईंमाथि दर्जन अभियोगमा अनुसन्धान थालिएको हो। राजावादी आन्दोलनका मुख्य कमान्डर प्रसाईं हाल प्रहरी हिरासतमा छन्। अघिल्लो वर्षदेखि ‘बैंकको ऋण मिनाहा’ आन्दोलन चलाइरहेका प्रसाईं पछिल्लो समय राजसंस्था पुनःस्थापना जागरण अभियानका नाममा तीनकुने हिंसात्मक घटनामा संलग्नताको पुष्टिपछि पक्राउ परेका थिए ।
प्रसाईंले विभिन्न समय आधा दर्जन बढी बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा अपचलन गरेको अभियोग राष्ट्र बैंकले लगाएको हो। ‘राष्ट्र बैंकले बैंकिङ कसुर र शुद्धीकरणसम्बन्धी कसुरमा सीआइबीमा मुद्दा दर्ता गराएको हो। सोहीअनुसार अनुसन्धान भइरहेको छ। अनुसन्धान सकिपछि उच्च अदालत पठाउँछौं,’ सीआईबी प्रवक्ता सुधीरराज शाहीले भने । प्रसाईंले आफ्नो र श्रीमतीको नाममा रहेका २४–२५ वटा कम्पनीको नाममा कर्जा लिएर त्यसको दुरुपयोग गरेको सीआईबीले जनाएको छ । सीआईबीले अर्बौं रुपैयाँ ऋण दुरुपयोगको अभियोगमा उनीमाथि अनुसन्धान सुरु गरेको हो।
सीआईबीका अनुसार प्रसाईंले बैंकबाट लिएको कर्जा व्यवसायमा नलगाई व्यक्तिगत तथा अनधिकृत खर्चमा प्रयोग गरेका छन्। कतिपय अवस्थामा एक बैंकको कर्जा तिर्न अर्कोे बैंकबाट लिएको कर्जा प्रयोग गरिएको छ। बीएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च प्रालिले चार वर्षदेखि कर्जाको साँवा–ब्याज भुक्तानी नगरेको पाइएको छ। प्रसाईले कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र गुडविल फाइनान्सबाट लिएको करिब २७ करोड ५० लाख रुपैयाँ कर्जामा समेत दुरुपयोग भेटिएको छ।
प्रसाईंविरुद्ध बैंक वा वित्तीय संस्थाबाट लिएको कर्जा निश्चित उद्देश्यका लागि लिएको भए पनि त्यसलाई अन्यत्र प्रयोग गरिएको, एक बैंकको ऋण चुक्ता गर्न अरू बैंकबाट लिएको कर्जा प्रयोग गरेको, बैंकबाट कर्जा लिँदा उल्लेख गरिएको प्रयोजनभन्दा फरक उद्देश्यमा कर्जाको रकम प्रयोग गरी दुरुपयोग गरेको, कर्जा व्यावसायिक प्रयोजनका लागि लिइएको भए पनि त्यसलाई पेश्कीको रूपमा प्रसाईं वा उनको कम्पनीलाई दिइएको, बीएण्डसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालले विगत चार वर्षदेखि साँवा–ब्याज नियमित नतिरेको, परियोजनाको लागत कृत्रिम रूपमा बढाएर आवश्यकताभन्दा बढी कर्जा लिइएको कसुर लगाइएको छ । उनीविरुद्ध लगाइएका कसुरले प्रसाई लामै समय जेलमा बस्नुपर्ने अवस्था आउने देखिएको छ ।
प्रतिक्रिया