गिजोलिँदै गभर्नर नियुक्ति प्रकरण, सिफारिस समितिका सदस्य भट्टराईले दिए राजीनामा


काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया गिजोलिँदै गएको छ । कहिले सर्वोच्च अदालतमा मुद्दा पर्ने त कहिले सिफारिस समितिबाट सदस्यले राजीनामा दिएपछि राष्ट्र बैंक लामै समयसम्म कामुका भरमा चल्ने परिस्थिति सिर्जना हुँदै गएको छ । गभर्नर सिफारिसका लागि गठन भएको तीन सदस्यीय समितिको अहिलेसम्म बैठक नै बस्न सकेको छैन ।

बैठक नबसेपछि सुरुमा सदस्य विश्व पौडेल विदेश भ्रमणमा निस्के । उनी वैशाख ७ गते स्वदेश फर्किसकेका छन् । तर मंगलबार सिफारिस समितिबाट पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । समितिका संयोजक अर्थमन्त्री विष्णु पौडेलले एकपटक पनि बैठक नराखेपछि राजीनामा दिनुपरेको भट्टराईले बताएका छन् । अब सिफारिस समिति नै अपूर्ण भएपछि गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा परेको छ ।

सरकारले गत चैत १८ गते अर्थमन्त्री पौडेलको नेतृत्वमा पूर्वगभर्नर भट्टराई र अर्थविद् पौडेल सदस्य रहने गरी गभर्नर सिफारिस समिति गठन गरेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओली गभर्नर नियुक्तिको विषयलाई लिएर आआफ्नो अडानमा कायमै छन् । केही दिनअघि देउवा र ओलीबीच गभर्नर कांग्रेसले पाउने सहमति भएको चर्चा चलेको थियो । तर पछिल्लो घटनाक्रमले गभर्नरमा एमालेकै दाबी सशक्त रहेको अनुमान गर्न सकिन्छ ।

आफ्नो भागमा नपरेकाले एमालेले जानजानी गभर्नर नियुक्ति विषयलाई गिजोलेको कांग्रेस नेताहरुको आरोप छ । गभर्नर महाप्रसाद अधिकारी गत चैत २४ गते अवकाशमा गएका थिए । राष्ट्र बैंक ऐनअनुसार अधिकारी अवकाशमा जानुअघि एक महिनाअगावै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने भए पनि दलीय सहमति नभएपछि राष्ट्र बैंक अहिले कायममुकायम गभर्नरको भरमा चलिरहेको छ ।