‘महाभोज’को टिजरमा पैसा, शक्ति र ठगीको कथा



फिल्म ‘महाभोज’को टिजर आज सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा पैसा, पावर र ठगीको कथा समावेश गरिएको छ । फिल्मका मुख्य कलाकारहरुले भिन्न भिन्न कथा बोकेका छन् । जेठको १५ गतेबाट यो फिल्म हलमा लाग्दैछ ।

यो फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत्त मुख्य भूमिकामा छन् ।

दिनेश राउतको निर्देशनमा तयार भएको फिल्मले वर्ग संघर्षको कथा भन्छ । फिल्मले पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक र नैतिक दबाबको यथार्थ चित्रणलाई प्रस्तुत गरेको दाबी निर्माणपक्षले बताएको छ ।

फिल्ममा बसुन्धरा भुषाल, मोहन निरौला, वुद्दि तामाङ, कमलमणी नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, विरेन्द्र सिंह कुशवाह लगायतका कलाकारको पनि अभिनय छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त व्यानरमा निर्माण भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । विकास सुवेदीको फिल्ममा पटकथा तथा संवाद छ ।

फिल्ममा दयाहाङलाई सहकारी अध्यक्षको रुपमा प्रस्तुत गरिएको छ । आर्यन भने फिल्ममा साहुको भूमिकामा छन्, जसको कनेक्शन नेतासम्म रहेको देखाइएको छ । फिल्ममा खगेन्द्र सहकारी पीडितको कथामा देखिएको अनुमान लगाउन सकिन्छ ।