काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगन गर्न आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले निजामती सेवा सम्बन्धी विधेयक अगाडि बढिरहेको अवस्थामा कर्मचारी पक्षबाट सकारात्मक भूमिका आवश्यक रहेको बताए। महामन्त्री थापाले भने, “निजामती विधेयक अगाडि बढेको छ।
आजै विधेयक पारित गर्ने तयारी पनि थियो, तर प्रतिवेदन अध्ययन गर्न समय दिने सहमति भएको छ, जुन प्रक्रिया पनि ठीकै हो। यस्तो बेलामा ट्रेड युनियनहरू पनि सकारात्मक हुनु जरुरी छ।” उनले विधेयक अन्तिम चरणमा पुगेको भन्दै अहिलेको चरणमा आन्दोलन रोक्न अनुरोध गरे।
यसअघि मंगलबार बसेको समितिको बैठकमा निजामती कर्मचारी ट्रेड युनियनका नेताहरूले विभिन्न १० बुँदे मागसहित ७२ घण्टे अल्टिमेटम दिएका थिए। उनीहरूले माग पूरा नभए आन्दोलनको अर्को चरण सुरु हुने चेतावनी दिएका थिए।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले समितिमा बोल्दै भनेका थिए, “७२ घन्टाभित्र माग सम्बोधन नभए आन्दोलनको अर्को चरण सुरु हुनेछ।” निजामती सेवा सम्बन्धी विधेयक हाल राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन अवस्थामा रहेको छ। संसद्को वर्षे अधिवेशन आगामी १२ वैशाखदेखि सुरु हुँदैछ।
प्रतिक्रिया