‘खुष्मा’पछि ‘जलाकी’मा उपासना र धिरजको सहकार्य



फिल्म ‘खुष्मा’ले राम्रै चर्चा पाएपछि निर्देशक अशोक थापा मगरले नयाँ फिल्म ‘जलाकी’ बनाउँदैछन् । यो फिल्मको पहिलो चरणको छायांकन उनले बाग्लुङमा गरिसकेका छन् । फिल्मलाई तीन चरणमा खिच्ने योजना उनको छ ।

यसैबिच, यो फिल्ममा नायक धिरज मगरको प्रवेश भएको छ । धिरजले अशोकसँगै फिल्म ‘खुस्मा’मा पनि काम गरेका थिए ।
दोस्रो चरणको छायांकनदेखि भने धिरजले काम सुरु गर्नेछन् । त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्ममा सोनम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन, आकृति राजभण्डारी लगायतका कलाकारहरुको अभिनय छ ।

कसैको संझना र मायाको प्रतिकको रुपमा मानिने ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भलाई वुझाउँछ । यो फिल्मको छायांकन तिन चरणमा हुने बताइएको छ । रुकुम, म्याग्दी, बाग्लुङ र पोखरामा फिल्मको छायांकन हुनेछ । फिल्मको छायांकन दक्षिण कोरियामा पनि गर्ने तयारी निर्माणपक्षको छ ।

एम मिडिया प्रालीको व्यानरमा निर्माण भइरहेको फिल्ममा ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर, मान बहादुर मगर र सुस्मिता वुढाथोकीको लगानी छ । फिल्ममा माओत्से गुरुङ, वुद्दि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन लगायतका कलाकारको पनि अभिनय छ ।

शैलेन्द्र डी कार्कीको डीओपी, एसडी योगी र सरित राइको संगीत रहेको फिल्मको प्रदर्शन मिति तय गरिएको छैन ।

फिल्ममा धिरज, उपासना र सोनामको प्रेमलाई देखाइनेछ । दर्शकले धिरज र उपासनाको जोडीलाई रुचाएका कारण पनि यो फिल्ममा अशोकले उनीहरुलाई नै दोहोर्याएका हुन् ।