कृषा र अनमोलको सहकार्यको तयारी



फिल्म ‘जेरीः अन टप’को छायांकन अझै केही दिन बाँकी छ । तर, निर्माणपक्षले अहिले ब्रेक लिएको छ ।

फिल्मका मुख्य नायक अनमोल केसी भने आफ्नो काम गर्ने शैली बदल्दैछन् । उनी, नयाँ नयाँ टिमसँग काम गर्न अग्रसर देखिएका छन् । यसैबिच, उनले फिल्म ‘पिताम्बर’को टिमसँग सहकार्य गर्न लागेका छन् ।

अनमोल, निर्देशक कृषा चौलागाई र छायांकार पुरुषोत्तम प्रधानबिच वुधबार भेट भयो । भेटका क्रममा एकसाथ फिल्ममा सहकार्य गरेर अगाडि बढ्ने बिषयमा सल्लाह भएको छ । वुझिएअनुसार, अनमोल कृषासँग काम गर्न सकारात्मक देखिएका छन् ।

अनमोल र कृषाले कस्तो कथामा काम गर्ने भन्ने बिषयमा पक्का गरेका छैनन् । तर, केही दिनमा नै अनमोलले कृषाको फिल्म साइन गर्ने संभावना उच्च रहेको वुझिएको छ । अनमोलले घरकै फिल्ममा पनि काम गर्दैछन् ।

उनका पिता भुवन केसीले नयाँ फिल्मको कथा तयार पारिसकेका छन् । लोकेशन पनि हेरिसकेका छन् । यसैले, कृषाको फिल्म वा घरको फिल्ममध्ये कुन पहिला छायांकनमा जान्छ, पक्का भएको छैन ।