काठमाडौं – माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोहोरो चरित्र देखाउन माहिर मानिन्छन् । विगतमा पहिलो संविधानसभाबाट संविधान बन्ने बेला उनले विभिन्न जाति तथा समुदायलाई भड्काएर संविधान नै बन्न नदिई संविधानसभा विघटन गराउन प्रमुख भूमिका खेलेका थिए । अहिले फेरि ठ्याक्कै त्यही भूमिकामा उनी देखिएका छन् ।
१० महिनाअघिसम्म प्रचण्ड नै थिए प्रधानमन्त्री । २०८० सालमा आन्दोलनरत शिक्षकसँग वार्ता हुँदा प्रचण्ड सरकारले सहमति गरेको थियो । शिक्षकसँग त्यसबेला गरेका सहमति उनी प्रधानमन्त्री हुँदा कार्यान्वयन गरेको भए अहिले २२ दिनसम्म शिक्षक सडकमा उत्रिनु पर्दैनथ्यो । वार्षिक क्यालेन्डरअनुसार कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुन्थ्यो ।
शिक्षकहरूले सडकमा चर्को घाम सहेर आन्दोलन गर्नुपर्दैनथ्यो । तर अहिले उनै प्रचण्ड शिक्षकहरूलाई आन्दोलन नरोक है भनेर उक्साइरहेका छन् । आफू सत्तामा हुँदा माखो नमार्ने, अनि विपक्षमा पुग्नेवित्तिकै अति क्रान्तिकारी देखिने प्रचण्डको पुरानै चरित्र हो । शिक्षकहरू २२ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । शिक्षा ऐन जारी हुनुपर्ने भन्दै उनीहरू एकसूत्रीय मागमा अडान छन् । यहीबीचमा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामासमेत दिइसकेकी छन् ।
जसकारण शिक्षकहरूसँग वार्ताको कडी नै टुटेको छ । यही मौका पारेर प्रचण्डले शिक्षक आन्दोलन भड्काउन आफ्नो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई शिक्षकको मागमा समर्थन रहेको जनाउन आन्दोलनस्थल पठाएका छन् । बुधबार श्रेष्ठ शिक्षक आन्दोलनस्थलमा पुगेर आफ्नो पार्टीको समर्थन रहेको बताए । तर आफ्नो पार्टी अध्यक्ष प्रचण्ड हुँदा शिक्षकसँग भएका सहमति कार्यान्वयन हुन नसकेको बारे एक शब्द बोलेनन् । जबकि उनी आफैं शिक्षकसँग सहमति हुँदा मन्त्री थिए ।
प्रतिक्रिया