काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थन गरेको आरोपमा ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङ पदमुक्त भएका छन् । प्रधानमन्त्री केपी ओलीले उनलाई बुधबार बर्खास्त गरेका छन् ।
सरकारविरुद्ध गतिविधि गरेको निष्कर्षसहित प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गरेका हुन् । यसअघि मन्त्रालयका कामकारबाहीमा सहयोग नगरेको भन्दै तामाङमाथि ऊर्जामन्त्री दीपक खड्काले पटक–पटक आरोप लगाउने गरेका थिए ।
कांग्रेसले राज्यमन्त्री पदबाट तामाङलाई राजीनामा दिन आग्रह गरे पनि नमानेपछि बर्खास्त गरिएको हो । तामाङ २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्री बनेका थिए । उनले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउन नहुने अडान लिँदै आएका थिए । सरकारले पनि उनलाई हटाउनुको कारण कुलमानलाई बोकेको आरोप लगाएको छ ।
केही दिनअघि तामाङले ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यलाई ४८ घन्टे स्पष्टीकरण सोधेका थिए । चार दिन बितिसक्दा पनि आचार्यले स्पष्टीकरण दिएनन् । बरु तामाङकै पद चैट भएको छ । सचिव आचार्य एमाले क्याडर हुन् ।
प्रतिक्रिया