कांग्रेसमा शशांक कोइराला एकाएक किन सक्रिय हुँदैछन् ?


काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै जाँदा नेताहरुबीच समीकरणमा व्यापक फेरबदल हुँदै जान थालेको छ । कांग्रेस सभापतिमा अब शेरबहादुर देउवाले विधानतः दाबी गर्न नमिल्ने भएपछि अन्य नेताहरु नेतृत्वको आकांक्षी देखिएका छन् ।

अहिलेसम्म कांग्रेसमा डा.शेखर कोइरालाले सभापतिको व्यापक तयारी थालेका थिए । १४औं महाधिवेशनमा उनी देउवासँग भिडिसकेका पनि हुन् । कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र प्रकाशमान सिंह पनि सभापतिमा उठेर ब्याक भइसकेका हुन् । १५औं महाधिवेशनमा भने महामन्त्री गगन थापा र शशांक कोइराला पनि सशक्त दाबेदारका रुपमा देखिएका छन् । अहिलेसम्म मौन जस्तै बस्दै आएका शशांक पछिल्लो समय सक्रिय हुन थालेका छन् ।

केही समयअघिदेखि बिपी कोइराला पुत्र शशांक, गणेशमान सिंह पुत्र प्रकाशमान र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्रले सुरु गरेको छलफलमा अरु चार नेता जोडिएका छन्। शशांकले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको चियापानमा विजयकुमार गच्छदार, कृष्ण सिटौला, प्रकाशशरण महत, पुष्पा भुसाललगायत सहभागी भएका छन् । यसलाई महाधिवेशनका लागि कोइरालाको शक्ति प्रदर्शनको रूपमा अर्थ्याइएको छ ।

यसअघि चैत १६ गते निधि निवासमा भएको छलफलमा महत सहभागी थिएनन्। निधि निवासमा जुटेका ६ नेताले चैत १५ गते काठमाडौंमा भएको आगजनी र तोडफोड घटनाको भर्त्सना गर्दै जनताको जीउधनको सुरक्षामा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। बिहीबारको छलफलमा पार्टीको आगामी महाधिवेशनको समिति र क्रियाशील सदस्यताका विषयमा पनि छलफल भएको बताइन्छ । पार्टीका पदाधिकारीहरू विधानअनुसार महाधिवेशन गर्न तयार नरहेको बुझाइमा उनीहरू छन्।

महाधिवेशन समयमा गराउन दबाब बढाउँदै आफ्नो पक्षमा नेतृत्व ल्याउन सक्रिय रहेका उनीहरू यसअघि निधि, सिंह र कोइरालाले छलफल गर्ने गरेका थिए। तर फागुन २ गते सभापति देउवा समूहका ११ जना नेताहरू बुढानीलकण्ठस्थित देउवा निवासमा गएर अबको सभापति उम्मेदवार तोकिदिन आग्रह गरेका थिए।

बाहिर महाधिवेशनको कुरा गरे पनि पार्टी पदाधिकारीहरू कांग्रेस महाधिवेशन २०८५ मा गर्ने रणनीतिमा रहेको बुझाइमा छन्। महाधिवेशन ढिला गर्न सभापति देउवाले पनि चाहेको, अन्य पदाधिकारीहरू पनि त्यसका लागि तयार रहेको उनीहरूको विश्लेषण छ। महाधिवेशन केही समय धकेल्न सके एउटा पुस्ता नेतृत्व प्रतिस्पर्धाबाट बाहिरिने युवा पदाधिकारीहरू आसमा रहेको नेताहरूको बुझाइ छ। देउवाले आफूलाई सभापतिमा सहयोग गर्ने आशामा शशांक छन् । सोही कारण शशांकले सक्रियता बढाएको बताइन्छ ।