काठमाडौं । भारतको केन्द्रशासित जम्मु कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणपछि दक्षिण एसियाकै राजनीतिक सिनारियो परिवर्तन हुने संकेत देखिएको छ । पहलगाम घटनालाई भारतले प्रतिष्ठाको मात्र विषय बनाएको छैन, पाकिस्तानलाई एक्ल्याउने नीतिलाई अझ तीव्र पारेको छ ।
६ वर्षअघि भारतको पुलहमा आक्रमणपछि पाकिस्तानसँगको सम्बन्धमा दरार उत्पन्न भएको थियो । त्यसयता दुई देशबीच उच्चस्तरीय भेटवार्ता र भ्रमण ठप्प छ । मंगलबारको पहलगाममा २८ जना हिन्दुको हत्या भएपछि भारतले यसको सम्पूर्ण दोष पाकिस्तानलाई लगाउँदै उसलाई एक्ल्याउने अभियान सुरु भएको हो । जुन आतकवादी आक्रमणमा नेपालका सुदीप न्यौपानेसहित २८ जनाको हत्या भएको थियो ।
पहलगाम आक्रमणपछि भारतले सिन्धु जल सम्झौतालाई तत्कालै निलम्बित गर्ने निर्णय गरेको छ। नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा मामिला हेर्ने क्याबिनेट कमिटीको बैठकले यो निर्णय गरेको हो।
भारतीय प्रधानमन्त्री मोदीले आक्रमणको जिम्मेवार कसैलाई नछाड्ने चेतावनी दिइसकेका छन्। नेपालले पनि आक्रमणको निन्दा गरेर आतंकवादविरुद्ध भारतको साथमै रहेको जनाइसकेको छ।
ब्रिटिश शासन हुँदा दक्षिण पञ्जाबमा सिन्धु नदी किनारमा ठूलो नहर निर्माण गरिएको थियो। यो परियोजनाले सो क्षेत्रलाई दक्षिण एसियाकै एक प्रमुख कृषि क्षेत्र नै बनायो । भारत र पाकिस्तान छुटिँदा जब पञ्जाब पनि विभाजित भयो, तब नहरको पूर्वी भाग भारतसँग र पश्चिमी भाग पाकिस्तानतर्फ पर्यो। विशाल नहरलाई दुई देशमा विभाजन गरिए पनि त्यहाँबाट पानी पाउन भने पाकिस्तान पूर्णरुपमा भारतसँग निर्भर थियो। पानीको बहावलाई कायम राख्न पूर्व र पश्चिम पञ्जाबका प्रमुख इन्जिनियरहरुबीच १९४७ डिसेम्बर २० मा एउटा सम्झौता भयो। त्यसबखत सन् १९४८ मार्च ३१ सम्म पानीको निश्चित हिस्सा भारतले पाकिस्तानलाई दिनुपर्ने सहमति भएको थियो ।
सन् १९४८ अप्रिल १ मा सो सहमतिको म्याद सकियो। र, भारतले प्रमुख नहरको पानी रोकिदियो। यसले पाकिस्तानको १७ लाख एकड जमिन खराब हुन पुगेको थियो। पछि सम्झौता भएपछि भारतले फेरि पानी पठाउन सुरु गरेको थियो। विश्व बैंकको मध्यस्थतामा दुवै देशबीच सिन्धु जल सम्झौता भएको थियो। त्यसयता भारतले पाकिस्तानमा पानी रोकेको थिएन ।
नागरिक नै मारिने गरी पहलगाममा भएको पछिल्लो आक्रमणपछि भने भारत पाकिस्तानप्रति क्रुद्ध बनेको छ। जसकारण भारतले सन्धिलाई तत्कालका लागि निष्प्रभावी बनाउने निर्णय गरेको छ। यो निर्णयले पाकिस्तानमा पानीको भयावह संकट आउने विश्लेषकहरुले बताएका छन्।
पाकिस्तानले आतंकवादीहरुलाई संरक्षण गरिरहेसम्म अब सम्झौता अघि बढ्न नसक्ने भारतले भनिसकेको छ। यस्तो अवस्थामा पाकिस्तानमा पानीको संकट बढ्ने देखिन्छ।
पाकिस्तानले भने भारत सरकारको निर्णयको विरोध गरेको छ। पाकिस्तानका प्रविधि मन्त्री चौधरी फवादले अन्तर्राष्ट्रिय कानुनअन्तर्गत भारतले सन्धिलाई निलम्बन गर्न नसक्ने बताएका छन्। भारतको घोषणापछि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले बिहीबार सुरक्षा परिषद् बैठक पनि बोलाएका छन्।पाकिस्तानले अन्तर्राष्ट्रिय कानुन र सन्धिअनुसार भारतको निर्णय गलत भएको भन्दै सन्धिमा रोक लगाउन नसक्नेमा जोड दिँदै आएको छ।
भारतले पाकिस्तानका उच्चायुक्तहरूको संख्या घटनाउनेदेखि सबै भिसा निलम्बन गरेको छ । साथै, दक्षिण एसियाका अन्य देशलाई आफ्नो छत्रछायाँमा राखेर पाकिस्तानलाई दण्डित गर्ने रणनीति भारतले अख्तियार गरेको छ । आतंकवादीहरुले हिन्दु हो भन्दै गोली हानेर २६ जनाको हत्या गरेका थिए । पछि घाइते दुईजनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया