वैशाख २७ गते जनमत र नागरिक उन्मुक्तिबीच पार्टी एकताको घोषणा हुने


काठमाडौं । सिके राउत नेतृत्वको जनमत र रेशम चौधरी संरक्षक तथा रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्तिबीच आगामी वैशाख २७ गते एकता घोषणा हुने भएको छ । बिहीबार जनमत अध्यक्ष राउतले पार्टी एकीकरण हुने मिति सार्वजनिक गरेका हुन् ।

दुई पार्टीबीच एकता भएको देख्न नचाहने शक्तिले सात आठ महिनायता निकै दुःख र कष्ट दिएको राउतको दाबी छ । ‘परिवारमा झगडा लगाएर फुट ल्याएर होस् कि पार्टीभित्रैका पदाधिकारीहरूमाथि पैसा, गाडी, साधनस्रोत प्रयोग गरेर होस्, कि मिडियामा नानाभाँती समाचार लेखाएर बदनाम गर्दै चरित्रहत्या गर्दै निरूस्ताहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस्, कि पार्टी फुटाइदिने षड्यन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरिद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनः पक्राऊ गराइदिने धम्की होस्, कुनै पनि कसर बाँकी राखेका छैनन्,’ राउतले भने

जनमत र नागरिक उन्मुक्तिबीच एकता हुने चर्चाले धेरै पार्टी र शक्तिको निद्रा उडेको उनले दाबी गरेका छन् । ‘धेरै पार्टी शक्तिहरूको अहिले निद्रा उडेको छ। किनकि आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ। नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ,’ राउतले भनेका छन्, ‘तर हामीलाई शक्तिशाली देख्न नचाहने तत्त्वहरूले हामीलाई (जनमत–नाउपा दुइटैलाई) तहस नहस गर्नका लागि विगत ७–८ महिनादेखि कुनै कसर छाडेका छैनन्। तर हामी आत्तिएका छैनौं। तपाईंहरू पनि नआत्तिनुहोला। जनताको भावना र आकांक्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढने नै छौं। एकता हुन्छ नै। यही वैशाख २७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच घोषणाको तैयारी गर्दैछौं ।’