काठमाडौं । बिहीबार देशभर १९औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरंकुशता पराजय भएको २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ।
त्यस दिन पूर्वराजा शाहले आफ्नो शाही घोषणामा राज्य शक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामै निहित रहेको भन्दै प्रतिनिधिसभालाई पुनःस्थापित गरेका थिए। ज्ञानेन्द्रको निरंकुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीसहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणामार्फत २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो। सोही प्रतिनिधिसभा बैठकले २०६३ जेठ ४ गते देशमा गणतन्त्र घोषणा गरेको थियो ।
१९ दिने जनआन्दोलनको बलमा देशमा लोकतन्त्र पुनःस्थापना भएको थियो । देशमा लोकतन्त्र पुनः स्थापना भएको एक वर्षपछि संविधानसभाको निर्वाचन भएको थियो ।
यस्तो थियो तत्कालीन राजा ज्ञानेन्द्रको शाही सन्देशस्
प्यारा देशवासीहरू,
नेपाल अधिराज्यको राज्यशक्तिको श्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता एवं राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयंगम् गर्दै वर्तमान जनआन्दोलन मार्फत अभिव्यक्त भएको जनभावना एवं आन्दोलनरत सात राजनीतिक दलको गठबन्धनको मार्गचित्रका आधारमा मुलुकमा जारी हिंसात्मक द्वन्द् लगायत समग्र समस्याहरूको समाधान गर्न, तत्कालीन प्रधानमन्त्रीको सिफारिशमा नेपाल अधिराज्यको संविधान, २०४७ बमोजिम २०५६ साल जेठ ८ गते विघटन भएको प्रतिनिधिसभालाई यसै घोषणा मार्फत पुनर्स्थापित गरिबक्सेका छौं।
बहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शान्ति, राष्ट्रिय एकता एवं समृद्धिको बाटोतर्फ मुलुकलाई अधि बढाउने जिम्मेवारी बहनगर्न हामी आन्दोलनरत सात राजनीतिक दलहरूलाई आव्हान गर्दछौं। पुनर्स्थापित प्रतिनिधिसभाको बैठक २०६३ साल वैशाख १५ गते शुक्रबार दिनको १ बजे संसद भवन, सिंहदरबारमा बस्ने गरी आव्हान गरिबक्सेका छौं।
नेपाल र नेपालीको बृहत्तर हित यो संसदबाट हुनेछ भन्ने हामीलाई विश्वास छ। जनआन्दोलनमा जीवन गुमाएका प्रति समवेदना र घाइते एवं आहत भएका सबैप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मुलुक दिगो शान्ति, प्रगति, पूर्ण प्रजातन्त्र र राष्ट्रिय एकतातर्फ अभिमुख हुने विश्वास प्रकट गर्दछौं।
श्री पशुपतिनाथले हामो सबैको कल्याण गरुन् ! जय नेपाल !
प्रतिक्रिया