कास्की । भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंककारी हमलामा ज्यान गुमाएकाप्रति गण्डकी कोटिहोम महायज्ञ आयोजक समितिले दुःख व्यक्त गरेको छ । समितिले यो हमलालाई सिंगो धर्म र मानवतामाथिको आक्रमणका रूपमा चित्रण गर्दै यस्ता कार्य कुनै पनि दृष्टिकोणबाट स्वीकार्य नहुने ठहर गरेको छ।
पहलगामको बैसारन घाटीमा मंगलबार भएको हमलामा २७ जनाभन्दा बढीको ज्यान गएको थियो । जसमा नेपालका सुदीप न्यौपानेसहित अन्य पर्यटक पनि परेका थिए।
कोटिहोम समितिले मृतकहरूको आत्माको शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। यस दुखद घटनाको स्मरणमा समितिले बिहीबार साँझ दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रममार्फत हमलामा ज्यान गुमाउने सबैप्रति सम्मान प्रकट गर्नुका साथै शान्ति र सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्य रहेको समितिले जनाएको छ ।
‘यो हमला केवल व्यक्तिमाथि मात्र नभई हाम्रो साझा संस्कृति र धार्मिक मूल्यमान्यतामाथिको प्रहार हो। हामी सबैले एकजुट भएर यस्ता अमानवीय कार्यको विरोध गर्नुपर्छ,’ कोटिहोम आयोवक संस्था मानव सेवा फाउन्डेसनले भनेको छ । पोखराको बिरौटामा कोटिहोम महायज्ञअन्तर्गत अहिले धार्मिक प्रवचन जारी छ । कोटिहोमको औपचारिक उद्घाटन वैशाख १७ गते हुँदैछ ।
प्रतिक्रिया