खेलको प्रिमियर, उदाउन सक्छन् मोनिका, निकिता र समापिका



भोलिबाट रिलिजमा आउन लागेको फिल्म ‘खेल’को प्रिमियर आयोजना गरिएको छ ।

काठमाडौंको छाया सेन्टरस्थित क्यूएफएक्स सिनेमामा आयोजित प्रिमियरमा फिल्मका मुख्य कलाकार, पत्रकार र विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिती थियो ।

प्रिमियरमा फिल्मका मुख्य कलाकारहरु सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम लगायतका कलाकारहरुको उपस्थिती थियो । अनुराग प्रधान र आस्था श्रेष्ठको निर्देशनमा तयार भएको यो फिल्मलाई मिथिकल थ्रीलर जनरामा तयार पारिएको छ ।

फिल्मको प्रस्तुति, छायांकन, कलाकारहरुको अभिनयलाई प्रिमियरमा तारिफ मिलेको छ । नेपाली मिथक, रहस्य र आधुनिक मनोविज्ञानलाई यो फिल्मले प्रस्तुत गरेको छ । फिल्ममा मिथिला शर्मा, सरिता लामिछाने, किरण श्रेष्ठ, भोलाराज सापकोटा लगायतका कलाकारहरुको पनि अभिनय छ ।

सिरुपाते कट्स प्रालिले निर्माण गरेको यो फिल्ममा लुइसराज महर्जन र आशिषराज महर्जनको लगानी छ । कुणालराज गुरुङ र रहिशराज महर्जन सह–निर्माता रहेको फिल्ममा आशिषराज महर्जनको कथा, अभितेन्द्र र अनुराग प्रधानको पटकथा छ ।

रोशन राई र संजय लामाको छायांकन रहेको यो फिल्ममा आशिषराज महर्जनको सम्पादन छ । यो फिल्मको बुकिङ बुधबारदेखि नै खुलेको हो ।

फिल्मबाट मोनिका, समापिका र निकिता उदाउने संभावना उच्च छ । फिल्ममा उनीहरुले गरेको कामको चर्चा भइरहेको छ ।