बागमतीका मेयर भरत थापाविरुद्ध तेस्रो मुद्दा, वन मुद्दामा डेढ अर्ब बिगो


काठमाडौं – भ्रष्टाचार मुद्दामा निलम्बित सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध वन मुद्दा दायर भएको छ । वन तथा वातावरण मन्त्रालयले बिहीवार सर्लाही जिल्ला अदालत मलंगवामा उनीसहित ६ जनाविरुद्ध वन मुद्दा दायर गरेको हो । वन मुद्दामा मेयर थापा र उपमेयर लीलाकुमारी मुक्तानलाई प्रमुख प्रतिवादी कायम गरिएको छ ।

नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र इन्जिनियर सागर पौडेलविरुद्ध पनि मुद्दा दायर भएको छ । जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरी पनि मुद्दाका प्रतिवादी छन् । थापाविरुद्ध यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । उनीविरुद्ध यो तेस्रो मुद्दा हो ।

वन अतिक्रमण, ताल निर्माण, ढुंगा गिट्टी, बालुवा, माटो उत्खनन् गरी हानीनोक्सानी गरेको कसुरमा प्रतिवादीहरूविरुद्ध मुद्दा दायर गरिएको छ। नेपाल सरकारको स्वीकृतिबिना बागमती नगरपालिका वडा नम्बर ४ र १२ स्थित सागरनाथ वन विकास परियोजनाको स्वामित्वमा रहेको मुर्तिया सेक्टरअन्तर्गत कर्मैया क्षेत्रको वन क्षेत्र अतिक्रमण गरेको र नदीजन्य पदार्थको अवैध उत्खनन् तथा निकासी गरेको पुष्टि भएको मुद्दाको संक्षिप्त व्यहोरामा उल्लेख छ ।

बागमती नगरपालिकाले गैरकानुनी रुपमा करिब एक सय ७३ हेक्टर वन क्षेत्रको जग्गा अतिक्रमण गरी बागमती माछापोखरी प्रथम र दोस्रो गरी दुईवटा ताल निर्माण गरेको थियो । ताल वरिपरी बाटो र अन्य संरचना निर्माणको क्रममा ठूलो परिमाणमा वन पैदावर (ढुंगा, गिट्टी, बालुवा, माटो लगायतका नदीजन्य पदार्थ) अवैध रुपमा उत्खनन् गरी निकासी गरिएको आरोपपत्रमा उल्लेख छ ।