काठमाडौं – सरकारको नेतृत्व गरिरहेको एमाले अहिलेदेखि नै आगामी निर्वाचनको तयारीमा लागेको छ। बिहीबार भृकुटीमकण्डपमा आयोजित युथ सेलिब्रेसनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले मिसन ०८४ मा लाग्न नेता कार्यकर्ताले प्रस्ट निर्देशन दिए ।
एमालेले आफ्ना नेता–कार्यकर्तालाई देशभर कार्यक्रम गर्न लगाएर आगामी निर्वाचनको तयारी थालेको संकेत गरेको छ। ओलीले सरकारको चिन्ता होइन, निर्वाचनको तयारी गर्न निर्देशन दिए। एमाले २०७९ को निर्वाचन परिणामअनुसार दोस्रो ठूलो दल हो। अबको आमनिर्वाचनबाट एमालेलाई पहिलो दल बनाउनुपर्ने अभिव्यक्ति नेताहरूले दिने गरेका छन् । त्यसकारण २०८४ को निर्वाचनको तयारीमा लाग्न एमालेले आफ्ना कार्यकर्तालाई कार्ययोजनासमेत पठाइसकेको छ।
२०८१ भदौमा आयोजित पोलिटब्युरो बैठकले एमालेले मिसन ०८४ को घोषणा गरेको थियो। भदौ १९ गते भएको पोलिटब्युरो बैठकमा ओलीले नेपाली कांग्रेससित सरकारमा सहकार्य भए पनि आगामी चुनावमा आ–आफ्नो नीति लिएर प्रतिस्पर्धा गर्ने बताउँदै नेताहरूलाई त्यसको तयारी गर्न निर्देशन दिएका थिए। पार्टीले एकल बहुमत ल्याउने उद्देश्यसहित ‘मिसन ८४’ तय गरेको उल्लेख गर्दै त्यहीअनुसार कार्ययोजना बनाउन ओलीले निर्देशन दिएका थिए।
युथ सेलिब्रेसनलाई सम्बोधन गर्ने क्रममा सरकारको भन्दा निर्वाचनलाई जोड दिन र त्यसतर्फ लाग्न ओलीले आग्रह गरे । ‘यतिबेला एमाले र नेपाली कांग्रेसको सरकार एउटा संकल्पका साथ बनेको हो। यो स्थिरता र स्थायित्वका लागि बनेको सरकार हो। यो केही लिएर अघि बढेको छ। सरकारबारे होइन, चुनावबारे चिन्ता गर्नुपर्छ,’ ओलीले भने। एमालेले सधैं सरकार बचाऔं भनेर नहेर्ने बताउँदै उनले कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए ।
‘एमालेले सरकार बनाऔं, सरकार बचाऔं भनेर हेरिरहेको हुँदैन। एमालेले सधैं चुनाव हेरेको हुन्छ। हामीले पहिले २०७९ सालको चुनाव भन्यौं र अहिले २०८४ को चुनाव भनिरहेका छौं। ढुक्कले मिसन ८४ मा लाग्नुस्,’ उनले भने। सरकारमै रहेर एमाले मिसन ०८४ को तयारीमा लागेको भन्दै सत्तारुढ कांग्रेसमा असन्तुष्टि बढेको छ । सोही कारण बिहीबार नै कांग्रेस महामन्त्री गगन थापाले आवश्यक परे सरकार छाड्न पनि सक्ने बताएको नेताहरुको भनाइ छ ।
प्रतिक्रिया