काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले शिक्षकहरुकै हठका कारण परिस्थिति बिग्रिएको आरोप लगाएक छन् । २५ दिनदेखि शिक्षकहरु आन्दोलनमा छन् । यस्तो अवस्थामा बिहीबार सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकलाई घर फर्काउन र विद्यालय सञ्चालनको वातावरण तयार पार्न अन्तरिम आदेश जारी गरेपछि परिस्थिति फेरिएको छ ।
यही आदेशलाई आधार बनाएर एमाले महासचिव पोखरेलले शिक्षकहरुको आन्दोलनलाई खिसिट्युरी गरेका हुन् । पोखरेलले सर्वोच्चको आदेश शिक्षक नेताहरुका हठविरुद्ध भनेर टिप्पणी गरेका छन् । पोखरेलले शुक्रबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै सरकारको बचाउ र शिक्षक आन्दोलनको विरोध गरेका हुन् । सरकार र दलहरुले शिक्षा ऐन ल्याउँछु भन्दा पनि शिक्षकहरुले हठ गरेको आरोप लगाएका छन् । शिक्षककै कारण सहमति नभएको उनको आरोप छ ।
आन्दोलनरत शिक्षकमा अधिकांश एमाले समर्थित शिक्षक छन् । ‘सर्वोच्च अदालतले वालवालिकाको भविष्यका वारेमा गम्भीर चिन्ता गर्दै निर्देशनात्मक आदेश दिएछ । कतिपय शिक्षक नेताहरु उक्त आदेश सरकारका लागि हो भनेर तर्क गरिरहनुभएको छ । हो आदेश त सरकारलाई हो । तर चिन्ता विद्यालय बन्द भएको कुरा प्रति हो ।
परीक्षा रोकिएको कुराप्रति हो,’ उनले लेखेका छन्, ‘सरकार र राजनीतिक दलले विद्यालय शिक्षा ऐन यस अधिवेशनबाट जारी गर्दछौं भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरुको हठका विरुद्धमा पनि हो ।
अब हठ त्यागेर अनौपचारिक रुपमा भएको सहमतिलाई औपचारिकता दिएर शिक्षकहरुलाई विद्यालय फर्काउने वातावरण तयार गरौ । उक्त आदेशपछि सरकारका लागि अदालतको आदेशको कार्यान्वयन गर्नुपर्ने बाध्यता उत्पन्न भएकोछ । उक्त आदेशको मूल पक्ष विद्यालय र परीक्षा समयमै संचालन गर्नु हो । सबै पक्ष जिम्मेवार बनौ ।’
प्रतिक्रिया