गोरखा भूकम्पको १० वर्ष, त्रास अझै उस्तै


काठमाडौं – गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्प १० वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा बारपाकलाई केन्द्रविन्दु बनाएर ७ दशमल ६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा आठ हजार ९ सय ७० जनाको मृत्यु भएको थियो । दशौं हजार मानिस घाइते बनेका थिए । हजारौंले घरबार गुमाएका थिए ।

निजी र सरकारी गरी साढे आठ लाख भौतिक संरचना क्षतिग्रस्त भएका थिए । १० वर्षमा पौने चार खर्ब सकिँदा निजी घरदेखि सम्पदासम्म पुनर्निर्माण अझै सकिएका छैनन् । भूकम्पपछि पुनर्निर्माणको जिम्मा लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण रहँदा ९ पुस ०७८ सम्म तीन खर्ब ७१ अर्ब र सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जिम्मा लिएपछि ३० भदौ ०७८ यता पाँच अर्ब ४८ करोड ६५ लाख गरी कुल तीन खर्ब ७६ अर्ब ४८ करोड ६५ लाख खर्च भएको हो । निजी आवास पुनर्निर्माणमा मात्रै दुई खर्ब ३३ अर्ब २३ करोड सकिएको छ, तर अझैसम्म पनि ९२ हजार १६८ पीडितको घर बन्न सकेको छैन ।

भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार निजी आवास निर्माणमा दुई खर्ब ३१ अर्ब ४१ करोड र प्रबलीकरणमा एक अर्ब ८१ करोड ९५ लाख खर्च भएको छ । गोरखा भूकम्पका परकम्प नै ५५ हजारपटक गइसकेको छ । अहिले पनि नेपालको पश्चिम क्षेत्रमा दिनहुँजसो भूकम्प गइरहेको छ । जसले फेरि पनि कुनै दिन नेपालमा ०७२ सालकै भूकम्पको नियति दोहोरिने हो कि भन्ने चिन्ता कायमै छ ।

भूगर्भविद् डा.सुबोध ढकालका अनुसार नेपालको कुनै पनि ठाउँमा ८० देखि १०० वर्षको बिचमा ठूलो भूकम्प आउँछ भन्ने गरिन्छ, त्यसलाई ०७२ को भूकम्पले प्रमाणित गर्‍यो । ‘कुनै पनि ठाउँमा ठूलो भूकम्प जाँदा देशभर असर गर्ने रहेछ भन्ने पनि सिकाइ भयो । भूकम्प रोक्न नसके पनि जोखिम न्यूनीकरण गर्न संरचनागत काम गर्नुपर्छ । योबिचमा विपत् प्राधिकरण गठन भयो, तथ्यांक एकीकृत रूपमा प्राप्त हुन थालेका छन् ,’ उनले भने ।

ढकाल नेपालमा भूकम्पको जोखिम निकै भए पनि नागरिकमा जागरुकता नभएको बताउँछन् । पोखरादेखि पश्चिम नेपालमा आठ म्याग्निच्युडभन्दा ठूला भूकम्प नगएको ५२५ वर्षभन्दा बढी भइसकेको उनले बताए । ‘नेपालको भौगोलिक संरचना सबैतिर एउटै छ, भूकम्प शक्ति सञ्चित भएर बसेकाले बढी सम्भावना हो ।

सतहभन्दा मुनिको अवस्था के छ भनेर अध्ययन भएको छैन । ०७२ मा भूकम्प गएपछि नागरिक तहमा जति जागरुकता थियो, अहिले हराउँदै गएको छ । जहाँ, जसरी पनि घर, भौतिक संरचना बनाए हुन्छ भन्ने मानसिकता पनि देखिन्छ,’ उनले भने ।