काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल सरकार फेरबदल नहुने स्पष्ट पारेका छन् । थाइल्यान्डको पाँच दिने निजी भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले हाल चलिरहेको सरकार परिवर्तनसम्बन्धी चर्चालाई पूर्णतः हल्ला मात्र भएको भन्दै खण्डन गरेका छन्।
देउवाले वर्तमान सत्ता गठबन्धनमा कुनै प्रकारको विवाद नरहेको पनि बताए । ‘यस्तो कुनै विषय नै छैन, गठबन्धनबीच सब ठीकठाक छ,’ उनले भने ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पनि सरकार परिवर्तनको हल्लालाई हावादारी भन्दै यसलाई ‘मनोरञ्जनका लागि बनेको कथा’ भनेकी छन्। ‘यो भ्रमण स्वास्थ्य परीक्षण र पारिवारिक प्रयोजनका लागि मात्रै थियो, कुनै राजनीतिक भेटघाट भएको छैन,’ उनले भनिन्, ‘सरकार परिवर्तन नेपालमै बसेर हुनुपर्ने हो, विदेशमा बसेर त हुँदै होइन नि। हामी त न्युज हेरेर आफैँ अचम्ममा पर्यौँ।’
मन्त्री राणाले भ्रमणका क्रममा सभापति देउवाले प्रधानमन्त्री केपी लीसँग टेलिफोन संवाद गरेका जानकारी दिइन्। हालैका दिनमा सत्तारुढ दलहरूबीच विश्वासको संकट उत्पन्न भएको अड्कल गर्दै आएको सन्दर्भमा देउवा र राणाको स्पष्टीकरणले ती चर्चाहरूलाई केही समयका लागि रोक्ने देखिन्छ।
बिहीबार मात्र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री गगन थापा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अभिव्यक्तिले सत्ता गठबन्धनमा खटपट भएको हो कि भनेर आशंका उब्जिएको थियो ।
प्रतिक्रिया