‘जार’सँग ढुक्क निर्देशक, सौगात र अनुप पनि आशावादी



वैशाखको २६ गतेबाट फिल्म ‘जार’ रिलिज हुँदैछ । यो फिल्मलाई लिएर कलाकारदेखि निर्देशक नै आशावादी देखिएका छन् ।
फिल्मको टिजरपछि ‘ए ठूली’ बोलको गीत पनि सार्वजनिक भएको छ । झुमा लिम्बु र पवन गिरीको स्वर रहेको यो गीतमा हर्क साउदको शब्द, झुमा लिम्बुको संगीत छ । लोकलयमा आधारित यो गीतले प्रेमको कुरालाई व्यक्त गरेको छ ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु सौगात मल्ल र गीताञ्जली थापालाई फिचरिङ गरिएको छ । भिडियोमा स्थानीय ग्रामीण जनजीवनलाई पर्दामा उतारिएको छ ।
यो फिल्मले सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई प्रस्तुत गरेको छ । साहित्यकार इन्द्रबहादुर राइको ऐतिहासिक कथामा आधारित रहेर यो फिल्म तयार भएको हो ।

फूर्वा छिरिङ लामाको निर्देशनमा तयार भएको यो फिल्ममा अनुप विक्रम शाहीको पनि मुख्य भूमिका छ । यो फिल्मका निर्देशक फुर्वा निकै उत्साहित छन् । उनले, यो फिल्मले नेपाली फिल्म क्षेत्रलाई नयाँ उचाइमा लैजाने दावा गरिरहेका छन् ।

फिल्मको कथावस्तुबाट नायक सौगात मल्ल र अनुप विक्रम शाहीको आशा अझै बढेको छ । अनुपले लामो समयपछि कुनै फिल्ममा अभिनय देखाउन पाएका छन् । सधैजसो अनुपको शरीरको चर्चा बढी हुने गर्दछ । तर, यसपटक उनले अभिनय देखाउन पाएका छन् । यहीकारणले गर्दा पनि, यो फिल्म अनुपका लागि पनि विशेष छ ।

यो फिल्ममा गीताञ्जली थापा नायिकाको रुपमा छिन् । जसले, भारतको ‘राष्ट्रिय फिल्म अवार्ड’ समेत जितिसकेकी छिन् । यी सबै कारणले गर्दा पनि फिल्म ‘जार’ प्रतिक्षित बनेको छ ।