देउवालाई थाहा नभएको सरकार परिवर्तनको हल्ला किन चलाइयो ?


काठमाडौं । केही दिनयता केपी ओली नेतृत्वको सरकार परिवर्तन हुने हल्ला तीव्र रूपमा चलिरहेको छ । खासगरी कांग्रेस सभापति शेरबहादुर देउवाको थाइल्यान्ड भ्रमणले सरकार परिवर्तनको हल्लालाई बल मिलेको हो । त्यसमाथि सत्तारुढ दलकै महामन्त्री गगन थापाले आवश्यक परे सरकार छाड्न सकिने अभिव्यक्ति र उपसभापति पूर्णबहादुर खड्काको देउवा स्वदेश फर्किएपछि नयाँ ढंगले अघि बढ्ने भनाइले चाँडै सरकार फेरबदल हुन लागेको हो कि भन्ने आशंका बढाएको थियो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको केही दिनभित्रै नयाँ सरकार गठन हुन्छ भन्ने अभिव्यक्ति र प्रधानमन्त्री केपी ओलीले बिहीबार एमालेलाई सरकार महत्वपूर्ण होइन, बरु निर्वाचनमा ध्यान केन्द्रित गर्न कार्यकर्तालाई निर्देशनपछि वर्तमान सरकार ढल्ने र नयाँ बन्ने हल्ला सत्य सावित हुने हो कि भन्ने देखिएको थियो । तर यी सबै हल्ला शुक्रबारदेखि निराधार सावित भएका छन् ।

कांग्रेस सभापति देउवाले थाइल्यान्डबाट फर्केलगत्तै सत्ता समीकरण फेरबदल नहुने भनाइले तत्काल ओली सरकार नढल्ने निश्चित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवाले पत्रकारलाई सोधे, ‘खटपट सुरु भएको हो ? देउवा ः केही भएको छैन । सत्ता समीकरण नै परिवर्तन हुन्छ भन्छन् नि ? कल्ले भन्यो ? मलाई थाहा छैन’ यो अभिव्यक्तिले सरकार तलमाथि हुने कुनै सम्भावना देखिन्न ।

संसदको सबैभन्दा ठूलो दल कांग्रेसले दिनहुँ सरकार परिवर्तनको हल्ला चलाएर अस्थिरता सिर्जना गर्ने प्रयास भएको बताएको छ । शुक्रबार प्रतिनिधिसभाको छैटौँ अधिवेशनलाई सम्बोधन गर्दै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले सरकार परिवर्तनको हल्ला चलाएर मुलुकमा अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको बताएका हुन् ।

‘दिनहुँ सरकार परिवर्तनको हल्ला चलाएर मुलुकमा अस्थिरता सिर्जना गर्ने प्रयत्न भइरहेको छ । विभिन्न वाद र वादीका नाममा अशान्ति मच्चाएर धमिलो पानीमा माछा मार्ने प्रयन्त पनि भइरहेको छ । त्यसलाई परिवर्तनको पक्षधर सबै मिलेर निस्तेज पार्न अवाश्यक छ,’ उनले भने ।

व्यवस्था मात्र परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने तर्कमा सत्यता नभएको उनको भनाइ छ । ‘राजतन्त्र फालेको २० वर्षमा केही पनि भएन भन्ने तर्कमा सत्यता छैन । अवस्था परिवर्तन भएको महसुस गरेका छौँ । आँखाले देख्ने गरी २० वर्षअघि र पछिको समाजलाई हेर्दा थाहा भइहाल्छ, उनले भने ।