काठमाडौं । आवासीय चिकित्सकहरुले निजी र सरकारी अस्पतालमा ओपिडी सेवा ठप्प पारेका छन् । शुक्रबारदेखि सरकारी मेडिकल कलेज र प्रतिष्ठानमा कार्यरत आवासीय चिकित्सकले विरामी जाच्ने कार्य रोकेका हुन् ।
निजी मेडिकल कलेजहरुले सरकारीसरह निर्वाह भत्ता नदिएपछि नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलन घोषणा गरेको थियो । शुक्रबार सरकारी र निजी दुवै अस्पतालको ओपिडी सेवा ठप्प भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा.ओमविक्रम कार्कीले बताए । शुक्रबार बिहान अस्पताल पुगेका हजारौं विरामी चिकित्सक आन्दोलनका कारण उपचार सेवा नपाई घर फर्किएक थिए ।
संघका अध्यक्ष कार्कीले निजी मेडिकल कलेजहरुले सरकारले तोकेको निर्वाह भत्ता नदिएसम्म आन्दोलन जारी रहनेछ । आइतबार अस्पतालहरुको ओपिडी बन्द गरेर चिकित्सकहरु माइतीघर क्षेत्रमा प्रदर्शनरत छन् । निजी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको तलब नदिएपछि एक महिनादेखि चिकित्सकहरु आन्दोलित छन् ।
बिहीबार संघले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि देशैभरका चिकित्सकहरु निजी अस्पताल र सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् । उनीहरुले तोकिएको निर्वाह भत्ता पाउनुपर्ने माग राखेका छन् ।
शुक्रबार वीर अस्पताल, ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताललगायतमा ओपिडी सेवा बन्द हुँदा उपचार लिन अस्पताल पुगेका विरामीहरु फर्किएका छन् । कतिपय विरामीलाई विशेषज्ञ तथा अन्य चिकित्सकको सहयतामा अस्पतालहरुले उपचारको प्रवन्ध मिलाइएको छ । वीर अस्पतालले आवासीय चिकित्सकहरुले विरामी नजाच्ने भएपछि टिकट काउन्टर नै बन्द गरेको थियो । पाटन अस्पतालले टिकट काटे पनि चिकित्सक नै नआएपछि विरामीलाई घर पठाएको थियो । निजी मेडिकल कलेजहरूले पोस्ट ग्रयाजुयट (पिजी) मा अध्ययनरत आवासीय चिकित्सकलाई मासिक १७ हजारदेखि २४ हजार रुपैयाँसम्म तलब दिँदै आएका छन् । चिकित्सा शिक्षा आयोगको १६औं बैठकले आवासीय चिकित्सकलाई सरकारीसरहक ४८ हजार सात सय रुपैयाँ दिनुपर्ने निर्णय गरेको थियो । तर निजी मेडिकल कलेजले त्यसलाई अस्वीकार गर्दै आएका छन् । जसकारण दुई महिनादेखि आवासीय चिकित्सकले तलब पाउन सकेका छैनन् ।
प्रतिक्रिया