विदेशको भिसा नलाग्दा डिप्रेसनमा नेपाली युवा


  • सरकारले युवाहरूका लागि देशमै शिक्षा, रोजगारी, व्यवसायको अवसर सिर्जना गर्नुपर्छ । देशप्रतिको माया नारामा होइन, कर्ममा देखिनुपर्छ । विदेश जानु गलत होइन– तर त्यो रहर होस्, बाध्यता होइन । देशले युवालाई बाध्य नबनाओस् कि उनीहरूलाई भिसा नलागे संसार टुटे जस्तो लागोस् ।

आजको नेपालमा युवा पुस्ताको सबैभन्दा ठूलो सपना के हो भनेर सोधियो भने अधिकांशको जवाफ हुन्छ– विदेश जाने । हिजोका दिनमा जहाँ युवाहरूको आदर्श डाक्टर, इन्जिनियर, शिक्षक वा समाजसेवी बन्नु हुन्थ्यो, आज त्यो स्थानमा विदेशको भिसा पहिलो प्राथमिकता बनिसकेको छ । यो रहर मात्रै होइन, बाध्यता पनि हो । जुन बाध्यता देशभित्रको अस्थिर राजनीति, बेरोजगारी, अवसरको अभाव र समाजको सोचले जन्माएको हो ।

कक्षा १० सकेपछि काठमाडौँ गएर राम्रो कलेज पढ्ने सपना देख्ने अधिकांश युवाहरूको त्यो सपना कक्षा १२ पुग्दै जाँदा बीचमै तुहिन थाल्छ । कारण स्पष्ट छ– न गुणस्तरीय शिक्षा उपलब्ध छ, न पढेपछि काम पाउने ग्यारेन्टी । त्यसैले १२ कक्षा सकिन नपाउँदै उनीहरूका पाइला कन्सल्टेन्सी, भाषा कक्षा, आइएलटीएसको कोचिङ सेन्टर वा जापान तथा कोरियाका लागि भाषा विद्यालयतर्फ मोडिन्छन् । आज नेपाली युवाहरूको मनमा एउटै भावना गडिसकेको छ– ‘देशमा बसेर केही हुँदैन ।’

यस्तो सोच केवल युवामा मात्र होइन, सामाजिक अभियन्ता, बुद्धिजीवी र नेताहरूमा समेत फैलिएको छ । राष्ट्रवादको कुरा गर्ने, देशप्रेमका भाषण दिनेहरू पनि अमेरिका, अस्ट्रेलिया, क्यानाडा जस्ता देशको पीआरको लाइनमा छन् । यस्तो अवस्थामा युवा पुस्ताले राजनीतिप्रति वितृष्णा राख्नु आश्चर्य होइन । उनीहरू भन्छन्, ‘नेताहरूलाई गाली नगरी विदेश जान मिल्दैन ।’

नेपालका ठूला दलहरूप्रति युवाहरूको विश्वास लगभग समाप्त भइसकेको छ । कांग्रेस, एमाले, माओवादी सबैलाई उनीहरू दोषी ठान्छन्, कारण देशमा न स्थिरता छ, न समृद्धि । काम गरेर देश बनाउने कुरा अब खोक्रो नारा जस्तो लाग्न थालेको छ ।
१२ कक्षा सकेपछि युवाहरूमा एक किसिमको चिन्ता सुरु हुन्छ– ‘कुन देश जाने होला ?’ उनीहरू कन्सल्टेन्सीको ढोका ढक्ढकाउन पुग्छन् । हातमा कुनै विशेष सीप छैन, न त स्पष्ट करियर योजना । तर विदेश जानुपर्ने दबाब धेरै छ– आफ्नै समाजले बनाएको । विदेश गएकाहरूलाई सफल व्यक्ति मानिन्छ र देशमै बसेकालाई असफलताको प्रतीक । जसले गर्दा युवाहरू सोच्न बाध्य छन्– ‘देशमै बस्नु भनेको जीवन बरबाद गर्नु हो ।’

तर विदेश जान सबैको भाग्यले साथ दिँदैन । भिसा नपाउनु भनेको उनीहरूका लागि संसार टुट्नु जस्तै हो । चैत २७ गते म क्याफेमा चिया खाँदै थिएँ । छेउको कुनामा करिब २३ वर्षको युवक चुपचाप रोइरहेका थिए । अनुहार रातो, आँखामा आँसु, हात काँपिरहेको थियो । सोध्दा उनले भने, ‘दाइ, भर्खर क्यानाडाको भिसा रिजेक्ट भयो ।’ त्यो कुरा सुनेर म अचम्ममा परेँ । उनको अवस्था हेर्दा लाग्थ्यो मानौं घरमा कोही आफन्त बितेका छन् । तर त्यो दुःख भिसाको रिजेक्सनको थियो– जुन आज हजारौँ नेपाली युवाको साझा पीडा बनेको छ ।

तीन महिनाअघि कोरियन भाषा परीषा पास भएर पनि कोरिया जान नपाएका उत्सवको पीडा उस्तै छ । ‘हात्ती छि¥यो, पुच्छर अड्कियो’ भन्ने उखान उनको जीवनमा ठ्याक्कै मेल खान्छ । एक वर्ष भाषा पढेर पास गरे, पाँच हजारभित्र नाम निक्लियो । उनी कोरिया जाने सुनौलो सपना देखेर बसेका थिए । तर दुर्भाग्य उनीभन्दा अगाडि भाषा परीक्षा पास गरेकै लाइनमा भएकाले उनी रोस्टरमै अड्किए ।

अरु देशको तुलनामा राम्रै कमाइ हुने भएकाले कोरिया नेपालीको पहिलो प्राथमिकतामा पर्छ । तर अगाडिदेखि रोस्टरमा भएकालाई नपठाई फेरि परीक्षा लिएकाले मान्छे थुप्रिनेमा उनी पनि परे । भाषा पास गरेर पनि जान नपाएपछि विक्षिप्त बनेका उनी आफूलाई अभागी ठान्छन् ।

एकदिन बस यात्रा गर्ने क्रममा स्नातक दोस्रो तहमा पढ्दै गरेका माधव तिमल्सिना चिन्तित अवस्थामा भेटिए । कारण उनको जापानको भिसा रिजेक्ट भएको रहेछ । उनले भने, ‘अब त केही बाँकी रहेन, सबैले मेरो भिसामा भरोसा गरेका थिए, कैयौं सापना थिए, जुन जापान जाँदा पूरा हुन्थ्यो । सँगै पढेका साथीहरूको भिसा आयो मेरो भने रिजेक्ट भयो । अब के गर्ने भन्ने दोधारमा छु । एकछिन फोन गरेर दुःख साटौं भन्दा पनि कोही साथी देशमा छैनन् ।’ यस्तो कुरा सुन्दा लाग्छ, उनीहरूको जीवनको मूल्य भिसाको निर्णयले तोकिरहेको छ ।

भिसा नलाग्दा आउने डिप्रेसन सामान्य मानसिक अवस्था होइन । यसले युवा पुस्तामा आत्मग्लानि, निराशा र आत्महत्याको सोचसमेत आउन सक्छ । जब परिवार, समाज र साथीहरू सबैले विदेश जाने कुरामा आशा राखेका हुन्छन्, तब त्यो आशा टुट्दा व्यक्ति आफूलाई ‘अयोग्य’, ‘असफल’ र ‘अस्वीकार्य’ महसुस गर्न थाल्छ । समाजले देशमै बसेका युवालाई हेर्ने दृष्टिकोण नै यस्तो बनिसकेको छ कि उनीहरू आफैँ पनि आत्मसम्मान गुमाउन थाल्छन् ।

त्यसैले सरकारले युवाहरूका लागि देशमै शिक्षा, रोजगारी, व्यवसायको अवसर सिर्जना गर्नुपर्छ । पारदर्शिता, निष्पक्षता र इज्जत हुने वातावरण बनाउनुपर्छ । समाजले पनि देशमै बसेर केही गर्न खोज्ने युवालाई सम्मान दिनुपर्ने बेला आएको छ । देशप्रतिको माया नारामा होइन, कर्ममा देखिनुपर्छ । विदेश जानु गलत होइन– तर त्यो रहर होस्, बाध्यता होइन । देशले युवालाई बाध्य नबनाओस् कि उनीहरूलाई भिसा नलागे संसार टुटे जस्तो लागोस् । आजको पुस्ताले विदेश जान चाहेको छ– आशा गरौं, भोलिको पुस्ताले देश फर्कन चाहून् ।