आन्दोलनरत शिक्षकलाई धम्क्याएकोमा महासंघको आपत्ति


काठमाडौ। नेपाल शिक्षक महासंघले शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई आग्रह गरेको छ। २६ दिनदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी शिक्षकहरूलाई स्थानीय तहले विभिन्न सूचना निकालेर काममा फर्किन निर्देशन दिन थालेपछि शिक्षक महासंघले यस्तो आग्रह गरेको हो ।

हाल सरकारसँग वार्तामा समेत रहेको शिक्षक महासंघले शनिवार विज्ञप्ति जारी गर्दै काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूलाई नधम्क्याउन आग्रह गरेको हो। महासंघले शिक्षा ऐन जारी गर्न यो आन्दोलनलाई अन्तिम र निर्णायक भनेको छ ।
आन्दोलनमा सहभागी भएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेकाले त्यस्ता काम नगर्न महासंघले विज्ञप्तिमार्फत आग्रह गरेको हो। महासंघले स्थानीय तहका यस्ता धम्कीबाट विचलित नहुन आग्रहसमेत गरेको छ ।

शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँका सडकमा प्रदर्शन केन्द्रित गरिरहेको छ । शनिबार राति प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शिक्षकका माग सम्बोधन गर्ने विषयमा छलफल भएको थियो । सम्भवतः आइतबार नै आन्दोलनरत शिक्षकसँग सरकारले वार्ता गर्ने भएको छ । वार्तापछि शिक्षक घर फर्किने र स्कुल सञ्चालन हुने अपेक्षा कांग्रेस एमाले नेताहरुले गरेका छन् ।