संसदमा आफैंले बोलेको कुराले राजेन्द्र लिङ्देनलाई धर्मसंकट, प्रमाणित गर्न कांग्रेसको चुनौती


काठमाडौं । आफैंले दिएको अभिव्यक्तिले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन धर्मसंकटमा परेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले चैत १५ को तीनकुने प्रदर्शनका क्रममा कोटेश्वरको भाटभटेनी चोरी घटनामा कांग्रेसका सहमहामन्त्रीका छोरा भएको बताएका थिए । जुन विषयले कांग्रेसमा सनसनी मच्चिएको थियो ।

सोही दिन केही मिडियामा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका छोराले रक्सीको बोतल चोरेको लेखेका थिए । जुन घटनापछि महेन्द्रका छोराहरुले सामाजिक सञ्जाल र मिडियामार्फत चोरी पुष्टि गर्न चुनौती दिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रमाणित गर्न र नभए लिङ्देनले माफी माग्नुपर्ने बताए ।

‘१२ गते संसदको सुरुवातको दिनमा राप्रपाका अध्यक्षज्यूले चैत १५ को घटनामा भाटभटेनीमा लुटपाट भयो । सो लुटपाटमा सत्तारुढ दलका सहमहामन्त्रीको छोरो संलग्न रहेको प्रमाण मसँग छ त्यसको भिडियो फुटेछ छ उहाँलाई पक्राउ गरियोस् । सहमहामन्त्रीको छोरो भएर छुटाइयो भनेर रोस्ट्रमबाट अभिव्यक्त गर्नुभयो,’ घिमिरेले भने, ‘सहमहामन्त्री सत्तारुढ दलको भन्नाले कांग्रेसको मात्र प्रचलन छ अन्य पार्टीलाई छैन । कुन चाहिँ सहमहामन्त्रीको कुन चाहिँ छोराले रक्सीको बोतल बोकेर हिँड्नुभएको हो ? त्यो प्रमाणित गर्न आग्रह गर्दछु । होइन भने उहाँले क्षमायाचना गर्नुपर्छ शब्द फिर्ता लिनुपर्छ । व्यक्तिगत र सामूहिक रूपमा पार्टीलाई लान्छना लाउन पाइँदैन ।’

लिङ्देनले गृहमन्त्री कांग्रेसको भएको र आफ्नै नेताका छोरालाई तत्कालै छाडेको दाबी गरेका थिए । कांग्रेसका ती नेताका छोरासँगै राप्रपाका कार्यकर्ता पनि पक्राउ परी भद्रकालीमा राखिएको र सहमहामन्त्रीको भन्ने गृहमा खबर पुगेपछि उनलाई तत्कालै रिहा गरिएको र राप्रपाका कार्यकर्ता पनि आफूले भिडियो फुटेज सार्वजनिक गरिदिने भनेपछि छुटेको लिङ्देनको भनाइ थियो । लगत्तै विदेशमा डाक्टर पढिरहेका नेता यादवका दुई छोरामध्ये कान्छो छोराले लिङ्देनलाई को पुष्टि गर्न भनेका थिए । त्यसपछि लिङ्देनको बोली बन्द भएको छ । अझ प्रतिनिधिसभा बैठकमै कांग्रेस प्रमुख सचेतकले प्रमाणित गर्न भनेपछि अब लिङ्देनले के गर्लान् भन्ने चासो बढेको छ ।