काठमाडौं । यतिबेला देशका हरेक क्षेत्र र वर्ग आन्दोलित बनेको छ । हरेक दिन सडकमा कसैको न कसैको प्रदर्शन नभएको भन्ने छैन । पेसाकर्मी, राजनीतिकर्मी, विभिन्न समूह र संस्थाबाट ठगिएका पीडित पनि आन्दोलनमा छन् ।
तर एक महिनादेखिको शिक्षक र चिकित्सकको आन्दोलन भने गम्भीर मोडमा पुगेको छ । नेपाल शिक्षक महासंघको अगुवाइमा २६ दिनदेखि चलिरहेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको थियो, जसका कारण ६२ जना घाइते भएको महासंघले जनाएको छ । तर प्रहरीले भने २० शिक्षक, पाँच प्रहरी र एक पत्रकार घाइते भएको उल्लेख गरेको छ । घाइतेहरूको सिभिल, एभरेस्ट अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सर्वोच्च अदालतले संवादबाट विद्यालय फर्काउने वातावरण बनाउन सरकारलाई दिएको तीन दिनको अवधि पूरा हुँदै गर्दा शिक्षक र प्रहरी मुठभेडमा उत्रिए । आन्दोलनरत शिक्षकले निषेधित क्षेत्र प्रवेश गर्न प्रहरी ब्यारिकेड तोडेपछि केहीबेर झडप भएको प्रहरीको भनाइ छ । ब्यारिकेड भत्काएपछि प्रहरीले रोक्ने क्रममा पानीको फोहरा प्रहार गरेको थियो भने आन्दोलनकारीका तर्फबाट ढुंगा, इँटा प्रहार भएका थिए ।
सरकारले ‘घुसपैठ’ गरी झडप निम्त्याएको दाबी गर्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् । शिक्षक आन्दोलनका कारण विद्यार्थीले पढ्न पाएका छैनन् । ६ दिनपछि कक्षा १२ को परीक्षा छ । त्यो परीक्षासमेत अन्योलमा परेको छ ।
शिक्षक आन्दोलन लम्बिँदै जाँदा ५५ लाख विद्यार्थीको भर्ना तथा पठनपाठन ठप्प छ । कक्षा १२ का पाँच लाख विद्यार्थीको परीक्षा र एसईई दिएका साढे पाँच लाख विद्यार्थीको नतिजा अनिश्चित बनेको छ । शिक्षक आन्दोलनकै कारण गाउँगाउँमा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्ने निश्चित जस्तै छ ।
यस्तै, आवासीय चिकित्सकलाई सरकारीसरह मासिक निर्वाह भत्ता माग गर्दै चिकित्सक पनि माइतीघर र जिल्ला प्रशासनमा धर्नामा छन् । आन्दोलनले देशभरका अस्पतालमा सेवा प्रभावित छ । सुरुमा निजी मेडिकल कलेज र अस्पतालमा उपचार सेवा प्रवाहित हुँदै आएको थियो । तर अब ठूला सरकारी अस्पतालमा समेत ओपिडी सेवा पनि ठप्प भएको छ ।
नेपाल चिकित्सक संघको आह्वानमा शुक्रबार देशभरका सरकारी अस्पतालमा चिकित्सकले आकस्मिकबाहेकका सेवा बहिष्कार गरेका थिए । आइतबार ओपीडी सेवा बहिष्कारको घोषणा नगरे पनि चिकित्सक धर्नामा आउँदा अधिकांश अस्पतालको सेवा प्रभावित बनेको थियो । संघले एक महिनादेखि जारी आवासीय चिकित्सकको आन्दोलनमा सहभागिता जनाएपछि अधिकांश अस्पतालको सेवा प्रभावित भएको हो ।
संघले सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज, निजी अस्पतालका चिकित्सकलाई धर्ना र प्रदर्शनमा सहभागी हुन अपिल गरेको थियो । काठमाडौं उपत्यकाका चिकित्सकलाई माइतीघर र बाहिरका चिकित्सकलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले सर्कुलर गरेका छन् । चिकित्सक धर्नामा सहभागी भएपछि अस्पताल आएका बिरामी भने उपचार पाउनबाट वञ्चित भए । ओपीडी सेवा अवरुद्ध भएको अस्पतालहरूले जनाएका छन् ।
निजी मेडिकल कलेजले सरकारले तोकेको मासिक साढे ४८ हजार निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने घोषणा गरेपछि चिकित्सक आन्दोलनमा उत्रेका हुन् । चिकित्सा शिक्षा आयोगले फागुनदेखि मासिक साढे ४८ हजार निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने निर्णय गरे पनि निजी मेडिकल कलेजले अस्वीकार गर्दै आएका छन् । भत्ता उपलब्ध गराउँदा घाटा हुने निजी मेडिकल एसोसिएसनको दाबी छ । आवासीय चिकित्सकले झन्डै महिना दिनदेखि काम छाडेर आन्दोलन गर्दै आएका छन् । जसकारण अस्पताल पुगेका विरामी उपचार नै नपाई घर फर्किन बाध्य छन् । तर सरकारले चिकित्सकको मागमा मौनता साँध्दै आएको छ ।
प्रतिक्रिया